हिमालयन बैंकको नाफा १०४१ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड ऋणात्मक

Headlines बैंक/वित्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १२ करोड ९७ लाख रुपैयाँमा सीमित थियो। यससँगै समीक्षा अवधिमा बैंकको खुद नाफा १०४१.१६ प्रतिशतले बढेको हो।

तर, खुद नाफामा उल्लेख्य सुधार आए पनि बैंकको वितरणयोग्य नाफा भने ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। कर्जा नोक्सानीबापतको ठूलो प्रावधान, नियामकीय रिजर्भ तथा उठ्न बाँकी ब्याजका कारण वितरणयोग्य नाफामा दबाब परेको बैंकले जनाएको छ।

बैंकको मुख्य आम्दानीतर्फ भने दबाब देखिएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १० अर्ब ४५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब १५ करोड रुपैयाँबाट घटेर १ अर्ब ६ करोड रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब २६ करोड रुपैयाँ र सञ्चालन मुनाफा २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

बैंकको खुद नाफा वृद्धिमा कर्जा नोक्सानीका लागि छुट्याइएको प्रावधानमा आएको कमीले महत्वपूर्ण योगदान गरेको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७५ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको बैंकले समीक्षा अवधिमा यस्तो प्रावधान घटाएर २ अर्ब ८९ करोड रुपैयाँमा सीमित गरेको छ।

यसरी ब्याज तथा शुल्क आम्दानी घटेको अवस्थामा पनि कर्जा नोक्सानी प्रावधानमा आएको कमीले बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

बैंकको खराब कर्जा अनुपात भने उच्च छ। समीक्षा अवधिमा बैंकको एनपीएल अनुपात ७.९६ प्रतिशत पुगेको छ। उच्च निष्क्रिय कर्जाका कारण कर्जा असुली तथा सम्पत्तिको गुणस्तर बैंकका लागि प्रमुख चुनौती बनेको छ।

बैंकले वर्गीकृत कर्जाको समीक्षा गरी असुली तथा नियमितीकरणलाई तीव्र बनाउने जनाएको छ। सम्भावित कर्जा नोक्सानीका लागि रोकिएको प्रावधानको ठूलो हिस्सा आगामी आर्थिक वर्षमा फिर्ता हुने अपेक्षा व्यवस्थापनले गरेको छ।

बैंकको निक्षेप संकलन बढेको छ। अघिल्लो आवको ३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप समीक्षा अवधिमा बढेर ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

तर कर्जा प्रवाह भने घटेको छ। अघिल्लो आवमा २ खर्ब ३० अर्ब रुपैयाँ रहेको कर्जा लगानी समीक्षा अवधिमा घटेर २ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ।

बैंकको रिटेन्ड अर्निङ ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अर्कोतर्फ बैंकको रिजर्भ भने २६ अर्ब ८० करोड रुपैयाँ धनात्मक छ।

बैंकका अनुसार नियामकीय रिजर्भमा राख्नुपर्ने उठ्न बाँकी ब्याज तथा गैरबैंकिङ सम्पत्तिसम्बन्धी रकमले वितरणयोग्य नाफा तथा पूँजी पर्याप्ततामा दबाब दिएको छ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा, प्रतिशेयर कुल सम्पत्ति १ हजार ८५१ रुपैयाँ ४ पैसा र तरलता अनुपात ३५.३२ प्रतिशत रहेको छ।

बैंकले वित्तीय क्षेत्रमा तीव्र प्रतिस्पर्धा, बढ्दो मुद्रास्फीति, नीतिगत अनिश्चितता, पूर्वाधारको कमी, कर्जाको ब्याजदर घटाउने दबाब तथा कोषको लागत नियन्त्रणलाई चुनौतीका रूपमा औँल्याएको छ।

विशेषगरी उच्च एनपीएल, गैरबैंकिङ सम्पत्ति र उठ्न बाँकी ब्याज व्यवस्थापन बैंकको आगामी वित्तीय प्रदर्शनका लागि निर्णायक हुने देखिन्छ। बैंकले कर्जा असुलीलाई तीव्र बनाउने, ग्राहक सेवा सुधार गर्ने, नयाँ उत्पादन तथा सेवा विस्तार गर्ने र प्रविधिको प्रयोग बढाउने रणनीति अघि सारेको छ।