अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग छलफल गर्दै

Headlines आर्थिक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आज छलफल गर्दैछन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारसँग छलफल गर्न लागेका हुन्। छलफल अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुनेछ।

छलफलमा सहभागी कम्पनीका प्रतिनिधिहरूलाई बजेटले प्रदान गरेका सुविधा, नेपालमा लगानीका क्रममा भोगिरहेका समस्या तथा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजाने विषयमा आफ्ना धारणा राख्न आग्रह गरिनेछ। उनीहरूलाई सम्बन्धित विषयमा लिखित विवरणसमेत पेस गर्न भनिनेछ।

सरकारले निजी क्षेत्र र ठूला करदाता कम्पनीसँग प्रत्यक्ष संवादमार्फत बजेट कार्यान्वयनका क्रममा देखिएका समस्या पहिचान गरी आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने उद्देश्यले यस्तो छलफललाई निरन्तरता दिएको हो।

यसै शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले यसअघि नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो मात्रामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन्।

त्यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि बजेट कार्यान्वयन र आर्थिक क्षेत्रका समसामयिक विषयमा छलफल गरिसकेका छन्।