काठमाडौं । काठमाडौं । Loan Growth, Investment & Confidence मा केन्द्रित हुँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार वाणिज्य बैंकका सीईओहरूसँग उच्चस्तरीय छलफल गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता र ऐतिहासिक रूपमा न्यून ब्याजदर हुँदाहुँदै पनि कर्जा विस्तार र निजी क्षेत्रको लगानी अपेक्षित रूपमा बढ्न नसकेको अवस्थाबारे समीक्षा गर्दै उनले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र बैंकिङ क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको बताएका छन्।
उनले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्दै अबको मुख्य चुनौती प्रभावकारी कार्यान्वयन रहेको बताए। अर्थतन्त्रको वास्तविक अवस्था, बजारको मनोविज्ञान र निजी क्षेत्रको धारणा बैंकिङ क्षेत्रले नजिकबाट बुझ्ने भएकाले बजेट कार्यान्वयन तथा विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ थियो।
छलफलका क्रममा अर्थमन्त्रीले पछिल्लो आर्थिक अवस्थाको विरोधाभासपूर्ण अवस्थाप्रति चासो व्यक्त गरे। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून अवस्थामा पुगेको भए पनि कर्जाको माग बढ्न नसक्नु र व्यवसायीहरू नयाँ लगानी विस्तारमा हिचकिचाउनु चिन्ताको विषय भएको उनले बताए।

उनले भने, “कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा र बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा पनि कर्जाको माग बढ्न नसक्नु र लगानी विस्तारमा व्यवसायीहरू हिचकिचाउनु चिन्ताको विषय हो।”
अर्थमन्त्री वाग्लेले मौद्रिक नीति, नियमन र सुपरीवेक्षण प्रणालीमा देखिएका संरचनागत समस्यालाई सम्बोधन गर्न नयाँ दृष्टिकोण आवश्यक रहेको बताए। बजारमा सकारात्मक मनोविज्ञान निर्माण नभएसम्म मौद्रिक उपकरणले मात्रै अपेक्षित परिणाम दिन नसक्ने उनको संकेत थियो।
उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध आर्थिक विकासको सहयात्रीका रूपमा अघि बढाउनुपर्ने बताए। आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सरकार तथा बैंकिङ क्षेत्रका साझा उद्देश्य रहेको उल्लेख गर्दै आवश्यक कानुनी तथा प्रक्रियागत सुधार गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
“जहाँ कानुनी र प्रक्रियागत सुधार आवश्यक छ, त्यहाँ सरकार निर्णय लिन पछि हट्ने छैन,” उनले भने।
छलफलमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। अर्थमन्त्रीले छलफल केवल समस्या पहिचानमा सीमित नरहने भन्दै बैंकरहरूबाट प्राप्त सुझावलाई कार्यान्वयनको ठोस मार्गचित्रमा रूपान्तरण गरिने बताए।
उनले अर्थतन्त्रलाई प्रतिक्रियात्मक अवस्थाबाट निकालेर आत्मविश्वासपूर्ण र भविष्यप्रति आशावादी बनाउने सरकारको लक्ष्य रहेको बताए। नेपाललाई उच्च आर्थिक वृद्धि र उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउन बैंकिङ क्षेत्रले आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको, ब्याजदर घट्दै गएको र कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेको अवस्थामा अर्थमन्त्रीको बैंकिङ क्षेत्रसँगको छलफललाई अर्थतन्त्र चलायमान बनाउने प्रयासका रूपमा हेरिएको छ।
निजी क्षेत्रमा देखिएको कमजोर आत्मविश्वास, लगानीको सुस्त गति र बजारको नकारात्मक मनोविज्ञान सुधार गर्न सरकार र बैंकिङ क्षेत्रबीचको सहकार्य महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

