काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस–एनटीयूसीले सुनसरी, सिराहा, धनुषा, पर्सा लगायत तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै एनटीयूसीले राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाज, धार्मिक तथा सामुदायिक अगुवा, श्रमिक संगठन तथा सम्बन्धित पक्षसँग समन्वय र सहकार्य गरी शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
महासचिव अजयकुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारलाई वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै सबै राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाज, धार्मिक तथा सामुदायिक अगुवा, श्रमिक संगठन र सरोकारवाला पक्षहरूसँग समन्वय तथा सहकार्य गरी शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्दछ ।’

हिंसा, घृणा, उत्तेजना र साम्प्रदायिकतालाई प्रोत्साहन गर्ने गतिविधिबाट टाढा रहँदै आपसी विश्वास, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
साथै, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट उत्तेजना फैलाउने लेख, अभिव्यक्ति र सामग्रीलाई निरुत्साहित गर्दै सकारात्मक सन्देश प्रवाह गर्न सबैमा अनुरोध गरेको छ ।
‘हिंसा, घृणा, उत्तेजना तथा साम्प्रदायिकतालाई प्रोत्साहन नगरी आपसी विश्वास, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सरकार तथा सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नु पर्दछ भन्ने मान्यता यस महासंघको रहेको छ । साथै, उत्तेजना, घृणा र द्वन्द्ध चर्काउने जस्ता लेख रचना, अभिव्यक्तिलाई निरुत्साहन गर्न र सामाजिक संजालहरुमा सकारात्मक सन्देश प्रवाह गर्नुहुन समेत सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
ढिलै भए पनि राष्ट्रका नाममा सम्बोधनमार्फत प्रधानमन्त्रीले शान्ति, एकता र सामाजिक सद्भावको स्पष्ट सन्देश प्रवाह गर्न तथा सम्माननीय राष्ट्रपति र उपराष्ट्रपतिसँग आवश्यक परामर्श एवं छलफल गरी वर्तमान परिस्थितिबाट निकास खोज्ने प्रयासले सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाल ट्रेड युनियनले सबै प्रकारका हिंसा, द्वन्द्व, धार्मिक तथा साम्प्रदायिक विभाजनको विरोध गर्दै संवाद, सहकार्य, सामाजिक न्याय र लोकतान्त्रिक प्रक्रियाबाट समस्याको दिगो समाधान खोजिनुपर्ने आफ्नो अडान दोहो¥याएको छ ।

