लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

Headlines आर्थिक

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्ता समिति गठन गरेका छन्।

अर्थमन्त्री वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। उनले समितिलाई पीडित पक्षसँग तत्काल वार्ता सुरु गर्न निर्देशन दिएका छन्।

वार्ता समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्।

समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्।

समितिको पहिलो बैठक बिहीबार अर्थ मन्त्रालयमा बस्ने र त्यसपछि आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै पीडितहरूले आन्दोलन गर्दै आएका छन्। उनीहरूका माग सम्बोधनका लागि सरकारले वार्ता प्रक्रिया अघि बढाएको हो।