आफू भोकै बसेर मलाई खुवाउने मेरी पहिलो गुरु ‘आमा’

Headlines विचार /दृष्टिकोण

संसारका सारा खुसी, सफलता र आनन्दका प्रत्येक पल मेरी आमाको जीवनमा भरिपूर्ण रहून् भन्ने मेरो सधैंको कामना हो । यति मात्र होइन, मेरो जिन्दगीको हिस्साका रुपमा आउने हरेक मुस्कान, खुसी र सुन्दर क्षणपनि आमालाई नै दिन पाए हुन्थ्यो जस्तो लाग्छ ।

हेर्दाहेर्दै म जन्मेको आज २२ वर्ष पूरा भइसकेछ । उमेरले म ठूली भइसकेँ, आफ्ना निर्णय आफैं लिन सक्ने भएकी छु । तर मेरी आमाका लागि म आज पनि उही सानी, चञ्चले र चुलबुले छोरी नै हुँ । सायद आमाको आँखामा सन्तान कहिल्यै ठूलो हुँदैन ।

मेरो पहिलो गुरु–मेरी आमा हुनुहुन्छ । उहाँले मलाई केवल जन्म मात्र दिनुभएन, जीवन जिउने पहिलो पाठ पनि सिकाउनुभयो । मैंले बोलेको पहिलो शब्द, चिनेको पहिलो अक्षर, चालेको पहिलो पाइला र संसारलाई हेर्ने पहिलो दृष्टि सबै आमाबाटै प्राप्त भएको हो । म लड्दा उठाउने, डराउँदा साहस दिने र सही–गलत छुट्याउन सिकाउने उहाँ नै मेरो पहिलो विद्यालय र पहिलो गुरु हुनुहुन्छ ।

म जन्मिँदा संसारमा सबैभन्दा धेरै खुसी हुने आमा नै हुनुहुन्थ्यो होला । तर आज पनि म अलिकति दुःखी हुँदा, पीडा भोग्दा वा कुनै चिन्ताले सताउँदा सबैभन्दा धेरै दुख्ने मन पनि उहाँकै हुन्छ । म मेरा धेरै दुःखहरू लुकाउन खोज्छु, अनुहारमा मुस्कान ल्याउन खोज्छु, आवाज सामान्य बनाउन खोज्छु । तर मेरी आमाले मेरो अनुहार हेरेर होस् वा स्वर सुनेर मनको पीडा सजिलै बुझ्नुहुन्छ । आमाको माया र अनुभूतिभन्दा ठूलो कुनै शक्ति हुँदैन भन्ने कुरा बारम्बार महसुस गरेकी छु ।

आज गुरु पूर्णिमा–यो दिनमा मेरा मनका धेरै भावना शब्दमा पोख्न मन थियो । तर जति शब्द खर्चिए पनि आमाको योगदान र ममताको वर्णन गर्न पर्याप्त हुँदैन । किनकि उहाँ केवल मेरी आमा मात्र होइन, जीवनको पहिलो गुरु पनि हुनुहुन्छ ।

मलाई हिम्मत, आत्मविश्वास र निडरताका साथ अघि बढ्न सिकाउने व्यक्ति आमा नै हुनुहुन्छ । जहाँ म डराउँथेँ, त्यहाँ उहाँले मेरो हात समातेर साहस दिनुभयो । जीवनका कठिन बाटोमा बिछ्याइएका काँडाहरूबाट मलाई जोगाउन सधैं उहाँले नै पहिलो पाइला चाल्नुभयो । मेरो सफलताको आधारमा आमाको त्याग, माया र संघर्ष लुकेको छ ।

आमाको माया केवल शब्दमा सीमित हुँदैन, त्यो उहाँको त्याग र कर्ममा देखिन्छ । आफू भोकै बसेर पनि पटुकीमा बाँधेर मेरो लागि खानाको गाँस ल्याइदिनुहुन्थ्यो । घरमा आर्थिक अभाव हुँदा हाम्रो खुसीमा कहिल्यै कमी आउन दिनुभएन । पैसा नभएको बेला ऋण निकालेर भए पनि आवश्यकता पूरा गर्नुभयो । आफ्ना रहरहरूलाई सँधै दबाएर हाम्रा सपनाहरूलाई पखेटा लगाइदिनुभयो ।

हातमा ठेला पर्नेगरी खेतबारीमा घण्टौँसम्म पसिना बगाउनुहुन्थ्यो, घाम–पानी, दुःख–सुख केही नभनी निरन्तर मेहनत गर्नुहुन्थ्यो । ती कठोर भएका हातहरूमा मैंले सँधै माया, संघर्ष र त्यागको सुन्दर चित्र देखेकी छु ।

विद्यालयको पहिलो दिन आउनुभन्दा धेरै अगाडि नै आमाले मलाई घरमै अक्षर चिनाउन थाल्नुभएको थियो । ‘अ’ ‘अः’ सम्मका अक्षरहरू, ‘क’ देखि ‘ज्ञ’ सम्मका वर्णहरू उहाँकै काखमा बसेर सिकेकी हुँ । धेरै औपचारिक शिक्षा हासिल नगरे पनि उहाँको ज्ञान, धैर्य र सिकाउने शैली कुनै शिक्षकभन्दा कम थिएन । उहाँले सिकाएको प्रत्येक पाठ आज पनि मेरो जीवनको अमूल्य सम्पत्ति बनेको छ ।

मलाई अझै राम्रोसँग सम्झना छ, मैंले सिकेको पहिलो अंग्रेजी शब्दमध्ये एउटा ‘टुर’ थियो । त्यो शब्द मैंले कुनै विद्यालयमा होइन, आफ्नै आमाबाट पहिलो पटक सुनेकी र सिकेकी थिएँ । आज त्यो सम्झना गर्दा लाग्छ मेरो शिक्षाको पहिलो आधार नै आमाको काख थियो ।

समयसँगै म हुर्किएँ । जीवनका अनेकौँ मोडहरू पार गर्दै आज म संचारकर्मी बनेकी छु । समाचारका शब्दहरूमा सत्य खोज्ने, समाजका आवाजहरूलाई कलममार्फत अभिव्यक्त गर्ने यो यात्रामा म जहाँ पुगेकी छु, त्यसको जग आमाले बाल्यकालमै निर्माण गरिदिनुभएको थियो ।

अक्षर चिनाउने ती पहिलो हातहरू, पढ्न र सिक्न प्रेरित गर्ने ती शब्दहरू र कहिल्यै हार नमान्न सिकाउने उहाँका हौसलाले नै मलाई आजको यो स्थानसम्म ल्याइपुर्याएको हो । आज म आफ्नो परिचय संचारकर्मीका रूपमा दिन सक्षम भएकी छु भने त्यसको पहिलो श्रेय मेरी आमालाई नै जान्छ ।

गुरु भनेको केवल विद्यालयमा पढाउने व्यक्ति मात्र होइन । जीवन जिउने कला सिकाउने, सही र गलत छुट्याउन सिकाउने, असफलतामा उठ्न हिम्मत दिने र सफलतामा विनम्र बन्न सिकाउने व्यक्ति नै साँचो गुरु हो । मेरो जीवनमा त्यस्तो गुरु मेरी आमा हुनुहुन्छ । उहाँले किताबका अक्षर मात्र होइन, संस्कार, अनुशासन, इमानदारी, मेहनत, सम्मान र मानवीयता पनि सिकाउनुभयो ।

आज म जे छु, जहाँ छु, त्यसको जग आमाको अथक मिहिनत, त्याग र निस्वार्थ प्रेममा उभिएको छ । आजको मेरो भविष्य वा त्यसको जग ती हातका ठेलाहरू, निधारको पसिना र आमाले गरेका अनगिन्ती त्यागहरूमा अडिएको छ । आफूले दुःख सहेर पनि हामीलाई अभावको अनुभूति हुन दिनुभएन । त्यसैले मेरो जीवनको सबैभन्दा महान् गुरु, सबैभन्दा ठूलो प्रेरणा र सबैभन्दा सुन्दर उदाहरण मेरी आमा नै हुनुहुन्छ ।

उहाँको ऋण कहिल्यै तिर्न सकिँदैन, तर उहाँले सिकाएका मूल्य र आदर्शलाई जीवनभर आत्मसात् गर्नु नै उहाँप्रतिको सबैभन्दा ठूलो सम्मान हुनेछ ।

यस पावन गुरु पूर्णिमाको अवसरमा मेरी पहिलो गुरु, मेरी जीवनदात्री, मेरी प्रेरणाको स्रोत मेरी आमाप्रति हार्दिक सम्मान, कृतज्ञता र अनन्त माया व्यक्त गर्दछु ।

आमा, तपाईंले मेरो हात समातेर अक्षर चिनाउनुभएको दिनदेखि आज म संचारकर्मी बन्ने यात्रासम्मको प्रत्येक पाइला तपाईंको माया, त्याग र शिक्षाले सम्भव भएको हो । तपाईं मेरो पहिलो गुरु हुनुहुन्छ, आज पनि हुनुहुन्छ र जीवनभर रहिरहनुहुनेछ । गुरु पूर्णिमाको हार्दिक शुभकामना ।