काठमाडौं सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक किरण बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भइरहेका व्यक्तिगत टिप्पणी, मिम तथा दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बिकले पछिल्ला दिनहरूमा शिक्षामन्त्रीको कार्यसम्पादनभन्दा बाहिर गएर उहाँको चुनावी शैलीलाई आधार बनाउँदै व्यक्तिगत आक्रमण हुने क्रम बढेको भन्दै त्यसप्रति असहमति जनाएका छन्। बिकका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिको नीति, निर्णय, कार्यसम्पादन तथा क्षेत्राधिकारभित्रका विषयमा आलोचना, समीक्षा र प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्सा हो। तर परिवार, वैवाहिक सम्बन्ध वा निजी जीवनलाई सार्वजनिक मनोरञ्जन वा आक्रमणको विषय बनाउनु उचित नहुने उनको भनाइ छ।
उनले शिक्षामन्त्रीको चुनावी शैलीलाई उहाँ वा उहाँको परिवारलाई हानि पुग्ने गरी प्रयोग वा दुरुपयोग गर्नु गलत हुने धारणा पनि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा एकपटक फैलिएको गलत सामग्रीले व्यक्तिको प्रतिष्ठा, करियर, मानसिक अवस्था तथा पारिवारिक जीवनमा दीर्घकालीन असर पार्न सक्ने उल्लेख गर्दै बिकले कन्टेन्ट क्रिएटर, मिम पेज तथा सामाजिक सञ्जाल सञ्चालकहरूलाई सामग्री प्रकाशनअघि त्यसको सम्भावित प्रभाव र क्षतिबारे एकपटक गम्भीर रूपमा विचार गर्न आग्रह गरेका छन्। कुनै सामग्रीले अरूको सम्मान, मानसिक स्वास्थ्य र सामाजिक जीवनमा कस्तो असर पार्न सक्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

बिकले युवाहरूलाई लक्षित गर्दै स्वस्थ, सभ्य, पारदर्शी तथा युवाको विकास हुने सामाजिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमा हुने निरन्तरको व्यक्तिगत लखेटाइ र अपाच्य सामग्रीले आत्मबल भएका व्यक्तिलाई समेत मानसिक रूपमा कमजोर बनाउन सक्ने र डिप्रेसनसम्म पुर्याउन सक्ने उनको तर्क छ। आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीमाथि भइरहेको सामाजिक सञ्जाल आक्रमण केवल स्वतःस्फूर्त नभई नियोजित हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्। यद्यपि, यस्तो निष्कर्षमा पुग्न तथ्य र प्रमाण आवश्यक रहने उनको भनाइ छ। बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीमाथि भइरहेको व्यक्तिगत प्रकृतिको सामाजिक सञ्जाल आक्रमणको निन्दा गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको काम, नीति, निर्णय र क्षेत्राधिकारभित्रका विषयमा हुने तथ्यपरक तथा स्वस्थ आलोचनाप्रति भने आफूलाई कुनै आपत्ति नरहेको स्पष्ट पारेका छन्।
उनले लोकतन्त्रमा स्वस्थ आलोचना आवश्यक भए पनि व्यक्तिगत आक्रमण, चरित्रहत्या र परिवारलाई निशाना बनाउने प्रवृत्तिले समाजलाई सकारात्मक दिशातर्फ लैजान नसक्ने उल्लेख गरेका छन्।

