काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड १ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ३८.०१ प्रतिशतको उल्लेखनीय वृद्धि गरेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.०१ प्रतिशतले बढेर ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ रहेको थियो।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३२ करोड ८० लाख ५७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९ अर्ब ७३ करोड २३ लाख १४ हजार रुपैयाँ तथा सञ्चालन नाफा ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) २० रुपैयाँ ८५ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको १५ रुपैयाँ ४८ पैसाको तुलनामा उल्लेखनीय वृद्धि हो।
बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ९ अर्ब १२ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप १०.८४ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यस्तै, कुल कर्जा तथा सापटी ११.१९ प्रतिशतले वृद्धि भई २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। नियामकीय विवरणअनुसार कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.७७ प्रतिशत कायम रहेको छ।
बैंकको सम्पत्ति गुणस्तरमा पनि सुधार देखिएको छ। खराब कर्जा (ग्रस एनपीए) अघिल्लो वर्षको ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा (नेट एनपीए) १.२० प्रतिशतबाट १.०२ प्रतिशतमा सीमित भएको छ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९४ पैसाबाट बढेर २५ रुपैयाँ ७५ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४२ पैसा, इक्विटीमा प्रतिफल (आरओई) १४.३९ प्रतिशत तथा मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १३.५९ गुणा रहेको छ।
पूँजी पर्याप्तताको हिसाबले पनि बैंक सुदृढ अवस्थामा रहेको छ। बैंकको टियर–१ क्यापिटल एडिक्वेसी रेसियो १०.१७ प्रतिशत तथा कुल पूँजी पर्याप्तता अनुपात १३.१० प्रतिशत कायम रहेको छ, जुन नियामकीय न्यूनतम सीमाभन्दा माथि रहेको बैंकले जनाएको छ।

