२०८३ श्रावण ९

पर्यटनको उत्तर आधुनिक यात्रा

Headlines पर्यटन

सूर्य थपलिया

धार्मिक पर्यटन अव केवल रेखीय यात्रा रहेन । यो त्रक्रिय यात्रामा रुपान्तरण हुँदैंछ । आस्था र विश्वास बाट अघि बढेर जीवन दर्शन र परिवर्तनको पूर्णता पे्ररित खोजमा बदलिदैं छ । आजको पुस्ता बदलिंदो छ । जेनजी पुस्ता अब उत्तर आधुनिक पुस्ता पनि हो ।

सभ्यताको प्रारम्भबाट मान्छे ज्ञान खोज्दै हिडेको छ, आश्चर्यको खोजीमा छ, तिलश्मी भूमि खोज्छ, आफुलाई चकित पार्ने समाज र सभ्यता खोज्छ अनि चकित पर्नुमा उपलब्धि मान्छ । यसरी सँधैभरि पर्यटन नयाँ/नयाँ आयाम र स्वरुपमा अघि बढेको छ ।

पर्यटन मुख्य रुपमा चार प्रमुख प्रेरणारुपी मानविय स्वभावको स्तम्भमा उभिएर आफनो अस्तित्वका लागि संघर्ष गर्छ । नयाँपनको खोजी, समाज बुझ्ने चाहना, ज्ञानको खोजी र आतिथ्यताको रहर । यी चार मानवका जन्मजात चरित्र हुन् ।

आज विश्व सिनेमा विज्ञानको ब्याख्याको उत्तर आयामीक कथा भन्ने प्रयास गर्छ । ज्ञान र चेतनाको मेटा भर्सन पर्दामा प्रस्तुत गर्ने जमर्को गरिरहेको छ । सन २०१७ मा आएको हलिउड चलचित्रको प्रमुख पात्र सर्जन डा.स्ट्रेन्जको दुर्घटनामा परि हात काम नलाग्ने भएपछि अलौकिक शक्तिको खोजीमा त्यो पात्र तिलश्मी भूमि कमारताज पुग्छ । यो ठाँउ हिन्दु मिथकसँग जोडिएको देखाउँछ चलचित्रले । पात्रको हात ठिक हुन्छ । यस चलचित्रले मानिस आफ्नो अर्धचेतन मस्तिष्क र ज्ञानको अन्धकारबाट पार पाउन ईश्वरीय संसारको खोजीमा निस्कन्छ, मनको अन्धकारबाट मुक्तिको बाटो तय गर्न प्रकृतिमा भगवानको वरदान छ भन्ने विश्वासलाई मजबुत पार्दै जीवनमा नयाँ शक्ति संचारको अभिलाषा राख्छ भन्ने सन्देश दिन खोजेको छ ।

चलचित्रको महत्वपूर्ण अंश काठमाडौंमा छायाकंन गरियो । काठमाडौं शहर आफंैमा एउटा अलौकिक सभ्यता बोकेको शहर हो । यहाँ हरेका गल्लीमा मन्दिर छन् । भूपि शेरचनले देखे, यहाँ देवताले बनाएका मानिस र मानिसले बनाएका देवता । त्यसैले यो भूमि देवनगरी हो । हलिउडले नियाल्न खोज्यो यसको रहस्य । जिउनु र जीवन दुवै रहस्य हुन । चलचित्रले कल्पनाशिलताको पराकाष्ठासम्म पुग्ने सामाथ्र्य राख्छ । तर शहर जिवन्त हुन्छ, चलचित्रको कारणले ।

डा.स्ट्रेन्जले काठमाडौं खोज्यो । हाम्रो समाज नायक खोज्छ । हाम्रो पौराणिक सभ्यतामा प्रशस्त नायकहरु आए । हामीले पुज्ने भगवान हाम्रा लागि नायक रहे । हजारौं बर्षदेखि नायक रहेका छन् हाम्रा लागि । तीनै नायकका बास खोज्दैं हिडछौं, प्रयास गर्छौं भेटाउन या भेटेको झैं भानमा रमाउन । आफु पछिको पुस्तालाई पनि प्रेरित गर्छौं खोज्न, अनि मार्गदर्शन गर्छौं यो विश्वास जन्म जन्मान्तर रहोस र पुस्ता पुस्तान्तरसम्म ।

हामीले पूर्वमा पाभीभरा भेटायौं, काठमाडौंमा पशुपति, मुस्ताङ्गमा मुक्तिनाथ अनि पश्चिममा बडिमालिका । थुप्रैं देवलोक भेटेका छौं । विश्वास गर्छौं मान्छौं । नगर्नु पर्ने कारण छ र ? इश्वरको अस्तित्व कसैले नकारेको छ र ? शहर हामीले बसायौं । यही शहरमा भगवानलाई राख्यौं । महाकवि देवकोटाले रचे–‘कुन मन्दिरमा जान्छौं यात्री !’ वास्तवमा हामी नैं देवतुल्य छौं । हामी नेपाली अनि त आज सारा पश्चिमालाई प्रेरित गरेका छौं यो देवलोक आउनका लागि ।

ब्लकबस्टर हलिउड चलचित्र अवतार संस्कृत नाम हो । अठारौं शताब्दीमा अंग्रेजी भाषाले सापटी लियो । अवतारमा मिथक पात्रले निलो शरीर धारण गर्छन । भगवान बिष्णु, कृष्ण अवतारी छन । रुप फेर्न माहिर । के हलिउड हाम्रै सनातन धर्मबाट प्रेरित छैन र?

भगवान हिमालमा बस्दछन र स्वर्ग हिमालपारी छ भन्ने कथन सुनेर कैयौं पुस्ता हुर्किएको छ । धर्मको स्थानिय अस्तित्वको सांकेतिक रुपमा संस्थागत विकास भएका मन्दिरका संरचनाले दुइवटा अक्षको बोध गराउँछन । स्वर्ग र नर्कको ठाडो अक्ष र चार दिशा बोध गराउने तेर्सो अक्ष । धार्मिक वास्तुकलाले मुलरुपमा जीवन बाच्ने संस्कार र आचरणलाई आत्मा र ब्रम्हाको संसर्गलाई प्रेरित गराउने हो । अन्तिम यात्रा ब्रम्हा उन्मुख हो । २१ औं शताब्दीको पर्यटन बिशेषतः अनुभवात्मक केन्द्रित छ ।

हिन्दुत्वमा हिमाललाई देवात्माको रुपमा ब्याख्या गरिन्छ । सारमा हिन्दु दर्शनले हरेक कणमा देवात्माको बास हुने विश्वास गर्दछ । हिमालको उचाइलाई मानव आत्माको उच्चता र गहिराइसँग तुलना गरिएको छ जुन वास्तवमा मानव चेतनाको सार्वभौम अभिमत हो । हिन्दु पुराणका कथनमा स्वर्गको अवस्थिती हिमालमा छ भन्ने विश्वास राखिएको छ । सन् ८० र ९० को दशकमा भारतीय टेलिभिजनमा प्रशारण भएको रामायण र महाभारत टेलिसिरियलले तत्पश्चातको पुस्तालाई हिन्दु धर्म, संस्कृति र दर्शनको बिषयमा श्रब्यदृश्यको माध्यमबाट पुस्तौसम्मका लागि ज्ञानको भण्डार निर्माण गरिदियो । आजको डिजिटल पुस्ताका लागि पनि यो एक क्लिकमा उपलब्ध छ ।

धार्मिक र आध्यात्मिक पर्यटनलाई स्पेस यानि स्थान भन्दा माथि राखेर बुज्नुपर्छ । यो मनको यात्रा हो । आस्था र विश्वासबाट प्रेरित यात्राको मर्म जीवनपर्यन्त अनुभवसँग गाँसिएको हुन्छ । पूर्णिमाको चन्द्रमाले एक क्षितिजबाट अर्को क्षितिजसम्म उज्यालो बनाउँछ र आफ्नो कोठामा कति उज्यालो प्रवेश गर्छ त्यो त झयाल कति खुल्ला राख्ने त्समा निर्भर रहन्छ । आस्थाको यात्रा ब्यवसाय मात्र रहन सक्दैन ।

यात्राले नयाँ मान्छे जन्माउँछ । सन १७४८ मार्च २१ को रात पश्चिम अफ्रिकाबाट दासहरु बोकेर हिडेको पानीजहाज आयरल्याण्डको समुन्द्रमा आँधीमा फस्यो । जहाजमा थिए दासहरुको किनबेच गर्ने कुख्यात नाइके जोन न्यूटन । मृत्यु निश्चित छ भन्ने लागेपछि ईश्वर सम्झिए । मृत्युको डर भोगे । त्यो रातले जोन न्युटनलाई परिवर्तन गर्यो । अध्याँरो र गहिरो समुन्द्रले यीनलाई उतिनै गहिराईमा परिवर्तन गर्यो । आज विश्वभरी क्रिश्चियनहरुले प्रार्थनामा गाउने अमेजिङ्ग गे्रस यीनले लेखे ।

धर्मको युद्धमा आफन्तको हत्याको पापबाट मुक्तिको मार्गका लागि भगवान केदारनाथको दर्शन गर्न हिडेका पाण्डवलाई सहजैं दर्शन दिने मन नभएपछि गोरुको रुप धारण गरेर बसेका केदारनाथलाई चिने पछि पाण्डवले समाउन बल गर्दा शीर र शरीर छुट्टियो । शरीर रहेको स्थान भारतमा केदारनाथको रुपमा प्रसिद्ध भयो । शीर भक्तपुरको डोलेश्वर हो भन्ने तथ्य २००९ मा केदारपीठका मुखिया भीम शिवाचार्यले मूर्ति स्थापना गरे । चार हजार बर्ष अघिको महाभारतको कथनमा नेपाल महत्वपूर्ण रुपमा जोडिएको छ ।

उत्तरको महाभारत श्रृंखला र दक्षिण तराईको विशाल भूमिलाई विराटक्षेत्रको रुपमा पुराणमा वर्णन गरिन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म महाभारत आज पनि वर्तमानमा बाँचेको छ । देवभूमि नेपालको पूर्व पश्चिम यात्रा नेपालीका लागि शान्ति र अध्यात्मको अलौकिक अनुभव हुन्छ । पर्यटन मात्र होइन, जीवनको सत्मार्ग र इश्वरको सत्संगका लागि पौराणिक इतिहासको जिउँदो यात्रा नै हुनसक्छ ।

प्रत्येक साल सदगुरुको नेपाल यात्रा उनकै शब्दमा देवलोकको यात्रा सरह हो । यदि स्वर्ग छ भने त्यो नेपाल नैं हो भन्ने गर्छन सदगुरु । हुम्लाको लिमी उनको प्रसिद्धिको साक्षी बन्यो । लिमी पनि चर्चामा रहयो । कैलाश मानसरोवरको यात्राको नया गेटवे हुन सक्छ लिमी ।

हलिउड हिन्दू सभ्यताको गहिराई र आस्थाको तिलस्मी प्रभावमा चलचित्र निर्माण गरिरहन्छ । मूल रुपमा आत्मा अविनाशी छ, आत्मा शरीरको यात्रामा रहन्छ र यो संसाररुपी मायामा मानवको अस्तित्व इश्वरीय संरचना र सारा चराचर जगतको एउटा सानो अंश मात्र हो भन्ने हिन्दुत्वको दर्शनलाई कथानकको केन्द्रमा राखेर अर्बौ रुपैंयाँ आम्दानी गरेका चलचित्र निर्माण भए । माया र तिलस्म चलचित्रले बोक्ने प्रमुख प्लट हो । स्टारवार्सका श्रृंखलाहरुमा देखिने चरित्र र प्रस्तुतिले ब्रम्हाण्ड र अलौकिक शक्त्तिको बर्णन गर्छ । अन्तरआत्माको संघर्ष सँगैं बाह्य शत्रुलाई पराश्त गर्नुपर्ने दर्शन हिन्दुत्वको आधार हो ।

इन्टरस्टेलर चलचित्रमा मुख्य पात्र समय र स्थानको अन्तरपरिवर्तनको इश्वरीय नियन्त्रणमा मानिसको अस्तित्व केवल बिशाल सृष्टिको नगण्य अंश मात्र हो भन्ने निष्कर्षमा पुग्दा वेद उपनिषदमा बर्णन गरिए जस्तो अनन्त ब्रहण्डको इश्वरीय रचनामा सबै जिवात्मा जोडिने विश्वासको नजिक चलचित्र पुगेको छ । योग र ध्यानको सम्पूर्णताबाट संसाररुपी माया र भ्रमबाट मुक्त्त भएर जीवन र जगतलाई उत्कृष्टताबाट बुज्न सकिन्छ भन्ने पूर्वीय दर्शनबाट म्याट्रिक्स चलचित्र प्रभावित भयो भने लियोनार्दो डि क्याप्रियोको इन्सेप्शन देखि अवतार सम्म हिन्दुत्व हलिवुडमा शसक्त ब्राण्डको रुपमा स्थापित भएको छ ।

ज्ञान र अनुभवको लागि विचरण जरुरी छ । पर्यटनले नयाँ आयाममा प्रवेश गर्ने प्रयास गर्नेपर्नेछ । मन यात्रामा रमाउँछ । समय र गन्तब्यको यात्रामा रमाउन खोज्ने लाखौं नेपाली मन आज जोडिएका छन आन्तरिक पर्यटनमा । मुश्किल घडीमा बचाएका छन पर्यटनलाई । २०७२ सालको महाभुकम्प र कोभिडपछि नेपाली पर्यटनमाथि अनिश्चितताको बादल मडारियो । पर्यटन क्षेत्रले आन्तरिक पर्यटक माथिको भरोसाको बलमा थेग्ने प्रयास गर्यो । त्यो बर्ष आशा र निराशाको मिश्रण रह्यो । २०७३ लाई नेपाल पर्यटन बोर्डको नेत्तृत्वमा घुमफिर बर्षको रुपमा प्रबद्र्धन गरियो । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि यो अभियान सान्दर्भिक थियो र चुनौतिपूर्ण पनि । भुकम्पले निम्त्याएको विनाश, त्रास र आर्थिक क्षतिबाट गुज्रिरहेका नेपाली नागरिकबाट पर्यटनको उत्थानमा भूमिका खेल्नलाई अनुरोध गरिएको थियो । सो अभियान बर्षमा करीब ४० लाख नेपाली आन्तरिक पर्यटकको रुपमा देश घुम्न निस्किए भन्ने अनौपचारिक तथ्यांक छ । आन्तरिक पर्यटकलाई बिना तयारी निस्कने भनि लेबल लगाइन्छ । यदि सबै नेपाली तयारी गरेर निस्कने स्वभावका हुनेभए न घुमफिर बर्ष २०७३ अभूतपुर्व रुपमा सफल हुन्थ्यो न कोरोना त्रासका बिचमा पुनः एक पटक पर्यटनको सास जोगाउन आन्तरिक पर्यटनको मुख ताक्न साहस गर्ने सोच नैं आउथ्यो । आज सरकारी तथ्याकं भन्छ करिब आधा नेपाली घुमफिरमा निस्कन थालिसके ।

चर्चित समालोचक तारानाथ शर्मा लेख्छन,‘म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हँु र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकैं स्नेहसित मुटुमा सँगाल्छु । म खप्तडमा वसन्त बिताउन चाहन्छु, तुम्लिङ्गमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँशेघारीमा झ्याउरे गाउन चाहन्छु । मलाई तिल्केनीको उकालो, घनघस्याको उकालो र चन्दनीको उकालोसित जति प्रेम छ, उति नै प्रेम अघोरी गाड, पुवा खोला र टुकुचासित छ । सतबाँझको लेक होस वा ट्याम्के डाँडो होस, अन्तु डाँडो हो्स वा चन्द्रागिरि हो्स, जहाँ पनि उस्तैं पाराको आफ्नोपनले मेरो मुटु ढुक्ढक्याउँछ ।’

बीसको दशकमा आफनो सुदुरपश्चिमको यात्राको वर्णन शर्माले अदभुत लेखन क्षमताले जिवन्त बनाइदिए । घनघस्याको उकाली काट्दा नियात्रा पढेर धेरैै पुस्ता यात्राका लागि प्रेरित भएका थिए । यात्रा साहित्यमा एउटा मास्टरपिस नै थियो यो नियात्रा । साहित्यका कालजयी स्रष्टाका इतिहास र रचनालाई आन्तरिक पर्यटनसँग जोड्न सफल भयौं भन्न सक्ने अवस्थामा हामी छैनौं । महान साहित्यकारहरुको जन्मथलो, कर्मक्षेत्र र दैनिकीसँग जोडिएका स्थान पर्यटनका लागि पुस्ता दर पुस्ता आकर्षण हुन्छ । पर्यटन त नाफामा पाइन्छ, बिशेषतः साहित्य ज्यूँ छ । यूगकवि सिद्धिचरण श्रेष्ठको अमर कृति मेरो प्यारो ओखलढुङ्गा स्वर सम्राट नारायण गोपालको स्वरमा करोडौं नेपालीको मन मस्तिस्कमा छायो । ओखलढुङ्गा पनि अमर भयो । फाइदा गन्तब्यलाई भयो ।

कविशिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्घौअर्चले बर्षोदेखि चोकमा ठडिएर सिस्टमलाई प्रश्न गर्छ, मैले यो भन्दा उत्तम ब्यवहार पाउन योग्य हैन र? गौथलीको चिरबिरमा उनी भाव पोख्छन,

तिमीले भन्छौं यो घर मेरो,

म पनि कहन्छु यही घर मेरो

वास्तवमा तिम्रो हो वा मेरो

खुव लगाउ मनमा फेरो

शायद ! शायद धेरै नै फेरो लगायौं । अमूल्य धरोहर भोलि इतिहासमैं हराउन सक्लान ।

मुग्लिङ्ग–पोखरा राजमार्गमा प्रसिद्ध स्थान छ, घाँसिकुवाँ । आदिकवि भानुभक्त आचार्यलाई आदिकवि बन्न प्रेरित गर्ने एउटा सामान्य तर असाधारण सोचको श्रमिकको कथा जोडिएको स्थान । प्रत्येक नेपालीका लागि यो स्थान पवित्र तीर्थस्थल भन्दा कम छैन तर हेर्दे उदेकलाग्दो बनाइएको छ । केही थान चियाका पसलले भद्दा स्वागत गर्दे असरल्ल बाटो छेकेका छन । केही तल शौचालय सम्म पुग्लान यात्रीहरु तर पाँच मिनेट यो इतिहासलाई आत्मसाथ गर्न प्ररित गर्ने आकर्षण समेत दिन सक्ने रुपरङ्ग छैन । घाँसी दरिद्र थिए धनको तर हामी त सोचका समेत महादरिद्र नैं रहने हो ?

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन । यो वाक्य आधुनिक नेपाली समाजमा दर्शनको रुपमा स्थापित छ । मन्दिर र भगवानको शहर काठमाडौमा जन्मिएका महाकवि लक्ष्मीप्रसा देवकोटा पोख्न्छिन,

कालो बादलबाट खसेको

अन्धकारमा भित्र पसेको

ईश्वर हो कि भिखारी?

प्रश्न आज पनि उत्तिनैं टाइमलेस छ, आउने कैयौं पुस्ताका लागि यो माटोको सुगन्धमा रमाउन प्रेरणा दिनेछ महाकवि देवकोटाको यात्री कविताले । तर त्यो भन्दा पनि टड्कारो आवश्यकता हो महाकविलाई हरेक पुस्तामा पुरयाउनु । अंग्रेजीको मोहमा टुप्पी भन्दा माथि नैं डुब्न परे हुन्थ्यो झैं गरि लठ्ठ हुनैं लागेको हाम्रो समाज स्रष्टालाई कतिको बुज्न चाहन्छ या सक्छ भन्ने क्षमता राज्यले साहित्य र कलाको आखिँझ्याल आफना नागरिकका लागि कसरी खुल्ला राख्छ भन्ने हो । इतिहास समय हो । रोकिदैंन तर अभिलेख गरिराख्नु पर्छ ।

महान स्रष्टालाई विगतबाट वर्तमान हुँदै भविश्यसम्मको यात्रा गराइएका केही उदाहरण पेश गर्न खोजेको छु । नोवेल पुरस्कार विजेता अमेरिकी साहित्यकार अर्नेष्ट हेमिङ्गवेले प्रख्यात कृत्ति ओल्ड म्यान एण्ड द सि क्युवामा बसेर लेखे । उनले हवाना भन्दा केही बाहिर घर किनेका थिए । हाल क्युबा सरकारको संरक्षणमा रहेको सो घर पर्यटकका लागि हवानाको प्रख्यात मध्येको एउटा ठेगाना हो । अर्का अमेरिकी लेखक मार्क ट्वेनको कनेक्टिकट राज्यमा रहेको घर राष्ट्रिय महत्वको सम्पदा घोषणा गरि सँग्रहालय बनाएको छ सरकारले ।

पर्यटकले ट्वेनको जीवनीसँग सम्बन्धित सम्पूर्ण गतिविधी अनुभव गर्न सक्छन । विलियम शेक्सपियरको जन्मस्थान समग्र बेलायतको पर्यटन उधोगमा अतुलनिय गन्तब्य हो । बार्षिक २५ लाख भन्दा धेरै पर्यटक उनको जन्मथलो स्टार्टफोर्ड पुग्ने गर्छन । स्थानीय अर्थतन्त्रको बलियो स्तम्भ बनेको छ शेक्सपियरको जन्मघर । नोवेल विजेता रविन्द्रनाथ टेगौरको कलकत्ता स्थित निवास कलकत्ताका प्रायः सबै टुर कम्पनीको टुर प्याकेजमा छुट्दैन ।

काठमाडौं, पोखरा, चितवन, इलाम र लुम्बिनी लामो समयसम्म आन्तरिक पर्यटकको पहिलो रोजाइका गन्तब्य रहे । पहँुच, सुविधा र आकर्षणका कारणले यो स्वभाविक थियो । ६० को दशकमा आन्तरिक पर्यटन समग्र पर्यटनका लागि भरपर्दो बजारको रुपमा स्थापित हुने तहमा पुग्यो । देश भित्रिएको रेमिट्यान्स पर्यटनमा लगानी हुने क्रम बढ्यो । यो दशकले नेपालमा हाइवे यात्रालाई लक्षित गरि रोड यात्रालाई पर्यटनमा प्रयोग र अनुभव दुवैको रुपमा स्थापित गर्यो । मध्यम र लघु लगानीको रुपमा देखिएको नव लगानीमा युवाका लागि स्वरोजगारको अवसर पनि बढयो । विदेशबाट फर्किएका नेपाली जानी नजानी रहरले भए पनि पर्यटनमा लगानी गरि स्वरोजगारमा लागे । खोलाको बगर, फाँट, टार, डाडाँ सबैतिर बस्न योग्य खालका मध्यमस्तरका रिसोर्ट होटल खुले ।

नेपाली पर्यटकलाई नै शतप्रतिशत लक्षित गरि धेरै व्यवसाय संचालनमा आए । यो दशकले आन्तरिक पर्यटकलाई खानपिनमा रमाउने मात्र नभएर समग्र पर्यटनको भविश्यका लागि संजीवनीको रुपमा स्थापित गरायो । ट्रेकिङ्ग रुट नेपाली पर्यटकले भरिए । नेपाली पर्यटकलाई कोठा भाडामा दिन हानाथाप गरेको देखिन थाल्यो । विदेशीका लागि भनेर शुरु गरिएका सेवामा नेपाली पर्यटक मुख्य उपभोक्ताको रुपमा लाइनमा अगाडी देखिए । समय फेरियो । आन्तरिक पर्यटक पोष्टर व्वायको रुपमा उदाए । यो क्रम ७० को दशकको मध्यसम्म नैं चल्यो ।

समय हाम्रो इतिहासको गौरवको कथा वाचन गर्ने पनि हो । परिवर्तनशील जनसाँख्यीक बनोटले अहिलेसम्म नदेखेको आफ्नै नेपालको भूमि देख्नुपर्ने समय हो । कसले ? युवाले । कसरी ? पर्यटनको बाटोबाट । इतिहासको दृश्य युवाहरुलाई कसरी देखाउने ? वर्तमानलाई विगतसँग कसरी पूर्वदिप्त गर्ने ? पर्यटनको आख्यानबाट । कथा कस्ले भन्ने ? हामी सबैले । किनभने पर्यटन अब हाम्रो साझा मूल्य हो, मान्यता हो । यो नेपालको सामाजिक र अर्थ राजनैतिक तथ्य र वास्तविकता भइसक्यो ।

नेपाली पर्यटकलाई गन्तब्यसँग भावनात्मक रुपमा जोडन आवश्यक छ । नेपाली पर्यटक पैसाको हिसाबकिताब शुरुमै गरिहाल्न रुचाउदैनन् । हिसाब पछि, शुरुमा सेवा । यो नेपाली काइदा हो । भावुक छन नेपाली । त्यसैले गन्तब्यसँग अब भावनात्मक जोड मिलाउन पर्छ । केही नयाँ सोचको थालनी गर्न सकिन्छ । पोखराको यात्रा गर्ने लाखौं आन्तरिक पाहँुनालाई आदिकविको जन्मघर र उनीसँग जोडिएका स्थानहरुको भ्रमण गराउने योजना बनाऔं । किताब पढेर उर्केको पुस्तालाई कविशिरोमणि लेखनाथ पौडेलको जन्मघर हेरेर महान हुन सामान्य घरमा जन्मे पनि कर्म गरे सकिन्छ भन्ने जीवन दर्शनको अनुभव गराऔं ।

काठमाडौंको यात्रामा आउने आन्तरिक पर्यटकलाई महाकविको सामिप्यमा एक दिन बिताउन सक्ने बातावरण श्रृजना गरौं । भाषा, साहित्य र कला प्रतिको प्रेम आवश्यक छ आन्तरिक पर्यटनलाई विस्तार गर्न । आउने पुस्ता डिजिटल एडिक्शनको खतरामा छ । हाम्रो चुनौति थपिने निश्चित छ । भूपि शेरचनलाई सापटी लिन्छु,

जब नेपाल खुम्चिएर काठमाडौं

काठमाडौं डल्एिर नयाँ सडक

र नयाँ सडक असंख्य मानिसका पाउमुनि कुल्चिएर,

टुक्रिएर, अखबार, चिया र पानको पसल बन्छ

मनमा फेरो लगाउँदै अमर श्रष्टा मीनबहादुर बिष्टलाई यात्रामा सम्झन मनलाग्यो……साला पहाडमा के छैन र……….नेपालका पहाडमा ।

(लेखक नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक हुन्)