DFTQC in Action: किसुचमेना गृहलाई २० हजार जरिवाना, ५ दिनभित्र सुधार गर्न निर्देशन

आर्थिक

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिका स्थित एक खाद्य व्यवसायमा अनुगमन गर्दै २० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार साउन ५ गते वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंसहितको संयुक्त टोलीले विभिन्न किराना पसल, खाद्य उद्योग, होटल/रेस्टुरेन्ट तथा मिठाइ पसलमा अनुगमन गरेको थियो। सो क्रममा किसुचमेना गृह मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत विभिन्न कमजोरी भेटिएपछि कारबाही गरिएको हो।

अनुगमनका क्रममा उक्त व्यवसायमा कीट नियन्त्रणको पर्याप्त व्यवस्था नभएको, फोहोरदानी खुला अवस्थामा राखिएको, भान्साको झ्याल नबन्द गरी खाद्य पदार्थ पकाइएको, खाद्य पदार्थको भण्डारण व्यवस्थित नभएको तथा एक्जस्ट फ्यानको पर्याप्त व्यवस्था नभएको पाइएको विभागले जनाएको छ। यद्यपि, सरसफाइको अवस्था भने सन्तोषजनक रहेको उल्लेख गरिएको छ।

खरिद बिल नराखेको पाइएपछि वाणिज्य विभागले उक्त व्यवसायलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो। साथै नियमित सरसफाइ कायम गर्न तथा देखिएका सबै कमजोरी सुधार गरी पाँच दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ।