सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.६९% बढ्यो, इम्पेयरमेन्ट चार्ज घट्दा कमायो झन्डै ८९ करोड

Headlines बैंक/वित्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा नाफासहित प्रमुख वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले बढेको हो।

बैंकले गत असार मसान्तसम्म ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६० करोड ६६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको २ अर्ब ७ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी १६.८३ प्रतिशतले वृद्धि भई २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ३४ करोड ५४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर ९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।

यससँगै बैंकको प्रति सेयर आम्दानी (EPS) र वितरणयोग्य नाफा समेत अघिल्लो आर्थिक वर्षको तुलनामा सुधारिएको वित्तीय विवरणमा उल्लेख छ।

बैंकले ग्राहकबाट सङ्कलन गरिएको निक्षेप ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ४२ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ५.५२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष बढेर ६.८७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३.८३ रुपैयाँ र प्रतिसेयर नटवर्थ १६९.५० रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकको लगानीकर्ताहरूलाई वितरण गर्न मिल्ने नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष ३६ करोड ८३ लाख रुपैयाँ थियो। बैंकको विद्यमान चुक्ता पूँजी (३.७३ अर्ब रुपैयाँ) का आधारमा सेयरधनीहरूलाई १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ । अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ३६ पैसा थियो ।