काठमाडौं । सरकारले मन्त्रालय तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएसम्म स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नपठाउन निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साविकका २२ मन्त्रालयलाई घटाएर १८ कायम गरिएपछि गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना तथा कर्मचारी दरबन्दी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा रहेको जनाएको छ।
कार्यालयका अनुसार सर्वेक्षण सम्पन्न भएपछि केही पदमा हालको भन्दा कम दरबन्दी कायम हुन सक्ने भएकाले अतिरिक्त (फाजिल) कर्मचारी व्यवस्थापनको विषयलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

यसअघि २०८३ साउन ४ गते बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नपठाउने निर्णय गरेको थियो।
विज्ञप्तिमा कुनै पदमा कर्मचारी आवश्यक परेमा पहिले फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसपछि कुनै पद रिक्त भएमा वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत नयाँ दरबन्दीअनुसार पदपूर्ति गर्नुपर्ने अवस्था आएमा मात्र नियमित प्रक्रियाअनुसार लोक सेवा आयोगमा माग पठाउन सकिने स्पष्ट पारिएको छ।


