काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै भएको एक घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको दर्दनाक घटनालाई पुनः स्मरण गराएको छ । जहाँ एक २५ वर्षे युवा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् ।
यो भन्दा तीन वर्ष अगाडि २०७९ माघ ११ गते संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले पनि यसरी नै आत्मदाह गरेका थिए ।
त्यो बेला तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’

तर आज समय फेरिएको छ । हिजो राज्यलाई ‘असफल’ घोषणा गर्ने तिनै बालेन आज मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को कुर्सीमा छन् ।
तर, विडम्बना ! त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले शरीरमा आगो लगाउँदै गर्दा यसले एउटा निर्मम सत्य उजागर गरेको छ । ‘नेतृत्व फेरियो, तर भुइँमान्छेको नियति र राज्यको क्रूरता रत्तिभर फेरिएन ।’
घटनाको कारुणिक यथार्थः को हुन् गणेश नेपाली ?
मुगुको सोरु गाउँपालिका–१ का गणेश कुनै आपराधिक पृष्ठभूमिबाट आएका थिएनन् । उनी कृषि विषयमा स्नातक गरेका एक शिक्षित बेरोजगार युवा हुन्, जसले देशमा अवसर नपाएपछि पठाओ चलाएर श्रीमती र साना सन्तानको भोक टारिरहेका थिए ।
सडक छेउमा पार्किङ गरेकै निहुँमा महानगरको नगरप्रहरीले उनको रोजीरोटीको एक मात्र सहारा मोटरसाइकल जफत गर्न खोज्यो । उनले रोएर हारगुहार गरे, तर नियमको नाममा मानवीय संवेदना गुमाएको नगरप्रहरीले उनको पुकार सुनेन । अन्ततः राज्यको निरंकुशता अगाडि हार खाएर उनले आफूलाई आगोको जिम्मा लगाए ।
नेतृत्वको दोहोरो चरित्र र भत्किएको वाचा
यस घटनाले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको विगतका भनाइ र वर्तमानको यथार्थबीचको डरलाग्दो खाडललाई समीक्षाको कठघरामा उभ्याएको छ ।
हिजोको वाचा : प्रेमप्रसादको घटनापछि बालेनले कसैले पनि यस्तो नियति भोग्न नपरोस् भनेर ‘सीप सिक्ने र जीवनस्तर वृद्धि गर्ने संरचना निर्माण गर्ने’ उद्घोष गरेका थिए ।
आजको यथार्थ : कृषि स्नातक युवाले सीप र शिक्षाको सम्मान त परै जाओस्, सडकमा पसिना बगाएर खान खोज्दा राज्य संयन्त्रकै कारण मृत्युको बाटो रोज्न बाध्य हुनुपर्यो ।
हिजोको ‘विद्रोह’, आजको ‘नियम’: हिजो प्रेमप्रसादको आत्मदाहलाई राज्यविरुद्धको ‘विद्रोह’ देख्ने बालेन, आज आफ्नै मातहत र नीतिअन्तर्गत हुर्किएको नगरप्रहरीको कठोरतालाई ‘नियम पालना’ को बर्को ओढाएर पन्छिन मिल्दैन ।
राज्यको असफलता : हिजोको भाष्य, आजको यथार्थ
बालेनले प्रेमप्रसादको मृत्युमा राज्यका हरेक तप्का, निकाय र अंग असफल भएको भन्दै कठोर आलोचना गरेका थिए । उनले जनप्रतिनिधि र सत्ताका अगुवाहरूलाई उत्तरदायी हुन अपिल गर्दै सीप विकास र जीवनस्तर वृद्धिका संरचना बनाउने वाचा गरेका थिए ।
तर, कृषि विषयमा स्नातक उत्तीर्ण गणेश नेपालीले दुई वर्षदेखि काठमाडौंमा पठाओ चलाएर जीविकोपार्जन गर्नुपर्ने र त्यही एउटा साहारा (मोटरसाइकल) पनि नगरप्रहरीले खोस्न लाग्दा मृत्युको बाटो रोज्नुपर्ने अवस्थाले ती वाचाहरूमाथि गम्भीर प्रश्न उठाएको छ । हिजो जसले राज्यलाई पूर्ण रूपमा असफल भनेर औंल्याएका थिए, आज उनी आफैं त्यो राज्यको सर्वोच्च पद (प्रधानमन्त्री) मा हुँदा फेरि त्यही प्रकृतिको घटना दोहोरिनु सत्ताको सबैभन्दा ठूलो र निर्मम विडम्बना हो ।
संवेदनाहीन संयन्त्र र युवा निराशा
गणेशको घटनाले तल्लो तहका नागरिकप्रति राज्यको संयन्त्र कति संवेदनाहीन छ भन्ने प्रष्ट पार्छ । गरिब र निमुखाको गरिखाने बाटो बन्द गरिदिने तर विकल्प नदिने प्रवृत्तिले युवाहरूलाई चरम निराशामा धकेलिरहेको छ । पूर्वाधारमा ध्यान नदिने अनि जरिवानाको डन्डा चलाएर भुईमान्छेलाई आतंकित गर्ने काम भइरहेको छ ।
प्रेमप्रसादले व्यवसायमा असफलता, निराशा र राज्यको असहयोग भोगेका थिए भने गणेशले पढेर पनि जागिर नपाउने र सडकमा स्वरोजगार बन्छु भन्दा पनि गरिखान नपाउने नियति भोगे । दुवै घटनाको चुरो कारण एउटै हो ‘नागरिकको सुरक्षा र उद्धारमा राज्यको उपस्थिति शून्य हुनु ।’
बालेनको त्यो पुरानो स्टाटस आज उनकै सरकार र सत्ताका लागि ऐना बनेर उभिएको छ । हिजो स्थानीय तहमा बसेर सङ्घीय राज्यलाई प्रश्न गर्नु र आज आफैं प्रधानमन्त्री बनेर ती प्रश्नहरूको समाधान दिनु नितान्त फरक परिस्थिति हुन् ।
गणेशको आत्मदाह प्रयास केवल एउटा दुर्घटना होइन, यो बेरोजगार युवाहरूको क्रोध र वर्तमान राज्यसत्ताको असफलताको अर्को भयानक संकेत पनि हो । हिजो प्रेमप्रसादको वियोगमा राज्यलाई दोष दिएर पन्छिन मिल्ने ठाउँमा बालेन थिए, तर आज उनी आफैं राज्य हुन् ।
तसर्थ, हिजो आफैंले उठाएका प्रश्नहरूको जवाफ अब प्रधानमन्त्री बालेनले व्यवहार र नीतिबाट दिनुपर्ने अग्निपरीक्षा सुरु भएको छ । नागरिकलाई गरिखाने वातावरण नबनेसम्म यस्ता घटनाहरु तथा विद्रोहका शृङ्खलाहरू रोकिने छैनन् । राज्य भनेको नियम र दण्ड मात्र होइन, नागरिकको संरक्षण पनि हो । जब नियम कार्यान्वयन गर्ने नाममा निहत्था नागरिकलाई आत्मदाहको विन्दुमा धकेलिन्छ र उद्धार गर्नुको साटो राज्यका रक्षकहरू नै भाग्छन्, तब मान्नैपर्छ, ‘हिजो बालेनले भनेजस्तै यो राज्य अझै पनि चरम असफल छ, फरक यत्ति हो, अब त्यो असफलताको मुख्य हिस्सेदार उनी आफैं हुन्।’
आकांक्षा धामी, नेपाल न्यूज बैंक
