काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आत्मदाहजस्तो पीडादायी घटना दोहोरिन नदिन राज्य, राजनीतिक दल र जनप्रतिनिधिहरू गम्भीर बन्नुपर्ने बताए ।
उनले भने,‘यो धेरै दर्दनाक कुरा हो । यो आत्मदाह अत्यन्तै पीडादायी कुरा हो । एउटा युवकले आज आत्मदाह गर्नुपर्ने अवस्था आएको छ, राज्य गम्भीर हुनुपर्छ ।’

उनले नागरिकमा राज्यप्रतिको विश्वास बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
‘यो राज्यमा कुनै पनि जात, जाति, वर्ग, समुदायको मेरो पनि भविष्य छ, स्वाभिमानका साथ बाँच्न पाउँछु, अवसर पाउन सक्छु भन्ने विश्वास राज्यले दिलाउनुपर्छ,’ उनले भने ।
सभापति खड्काले सरकार, राजनीतिक दल र नागरिक समाज सबैले विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए ।
उनले गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी पाएको भन्दै राज्यले उनलाई बचाउन सबै प्रयास गर्नुपर्ने बताए ।
‘राज्यको दायित्व नागरिकलाई बचाउने हो । उहाँलाई बचाउनका लागि सरकारले कुनै कसर बाँकी राख्नुहुँदैन,’ उनले भने ।
खड्काले यस्ता घटना फेरि नदोहोरिउन् भन्नका लागि सबै पक्षले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे ।
