आइसोलेसनमा रहेका एक युवकको मृत्यु

विविध

 २०७७ जेष्ठ ०५ : काठमाडौँ – रोल्पामा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षे ती युवकमा लामो समयदेखि मिर्गौलासम्बन्धी समस्या भएको बताइएको छ ।

आइतबार राति १० बजे आइसोलेसनमा भर्ना गरिएका उनको सोमबार दिउँसो ४ बजे निधन भएको नगरपालिका प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । ‘उहाँमा कोरोनाको लक्षणभन्दा पनि डायलासिस गराउन काठमाडौँ जानुभएकाले कोरोना लागेको हुन सक्ने आशंकाले हामीले आइसोलेसनमा राखेका थियौं,’ मेयर केसीले बताउनु भयो  ।

उहाँका अनुसार ती युवकमा कोरोनाको लक्षण देखिएको भने थिएन  । आरडिटी परीक्षण क्रममा उनको रिपोर्टसमेत नेगेटिभ आएको मेयर केसीले बताउनु भयो । मृतक युवकको स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षणका लागि पठाइएको छ ।