प्रहरी जवानमा कोरोना सङ्क्रमणपछि निरीक्षकसहित २५ जना क्वारेन्टीनमा

विविध

बारा, जेठ ४ गते । जिल्ला प्रहरी कार्यालय, बारा कलैयाको मुद्दा फाँटमा कार्यरत एकजना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टीनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय नजिकै रहेको बाल मन्दिरको प्रहरी क्वारेन्टीनमा राखिएको छ ।

सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीसँगै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र जिल्ला सरकारी वकिल कार्यालयका तीनजना सहित ३१ जनाको स्वाब पीसीआर परीक्षणका लागी कलैया अस्पतालमा सङ्कलन गराइएको छ ।सङ्क्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेसनमा राखिएको छ । सङ्क्रमित प्रहरी जवान गएको वैशाख २९ गते रौतहटमा रहेको घर गएर ३० गते जिल्ला प्रहरी कार्यालय बारामा फिर्ता आएका थिए ।

प्रहरी जवानमा कोरोनाको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालयमा अति आवश्यक कामबाहेक अन्य सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ । प्रहरी कार्यालयमा नआइ नहुने कामबाहेक अन्यलाई प्रवेश गर्न आइतबारदेखि पूर्णरुपमा निषेध गरिएको  छ ।