बाढीपीडित राहत प्रकरणबारे सोरु गाउँपालिका अध्यक्ष शाहीको स्पष्टीकरण, भ्रामक प्रचारप्रति आपत्ति

समाचार

मुगु । मुगुको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले तारापानी बाढीपीडितलाई वितरण गरिएको राहत रकम हिनामिनासम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

अध्यक्ष शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा ‘नेपाल खोज खबर डटकम’मा प्रकाशित समाचार तथा त्यसको आधारमा सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरू कपोलकल्पित, भ्रामक, पूर्वाग्रही र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका छन् ।

विज्ञप्तिअनुसार २०७९ साल असोजमा आएको बाढीबाट प्रभावित सोरु गाउँपालिकाका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले इन्द्रेणी फाउन्डेसनमार्फत प्राप्त ५ लाख रुपैयाँको चेक गाउँपालिका अध्यक्षको हैसियतमा आफूलाई हस्तान्तरण गरिएको थियो ।

उक्त रकममध्ये तत्काल राहत आवश्यक भएका ११ पीडित परिवारलाई वितरण गरिएको अध्यक्ष शाहीले बताएका छन् । उनका अनुसार ९ परिवारलाई जनही २० हजार रुपैयाँका दरले तथा २ परिवारलाई जनही १० हजार रुपैयाँका दरले गरी कुल २ लाख रुपैयाँ राहत वितरण गरिएको थियो ।

बाँकी ३ लाख रुपैयाँ सीमित स्रोतका कारण सबै पीडितलाई समान रूपमा वितरण गर्न कठिनाइ भएपछि गाउँ कार्यपालिकाबाट थप बजेट व्यवस्था गरी एकमुष्ट राहत वितरण गर्ने उद्देश्यले सुरक्षित राखिएको र पछि गाउँपालिकाको खातामा जम्मा गरिएको उनले स्पष्ट पारेका छन् । विज्ञप्तिमा रकम बैंकमा दाखिला गरिएको प्रमाण तथा लाभग्राहीहरूको विवरणसमेत सार्वजनिक गरिएको उल्लेख छ ।

अध्यक्ष शाहीले आफ्नो व्यक्तिगत चरित्र, राजनीतिक छवि तथा पदीय जिम्मेवारीमाथि आँच पु¥याउने उद्देश्यले एकतर्फी ढंगबाट समाचार सम्प्रेषण गरिएको आरोप लगाएका छन् । तथ्य र प्रमाण नबुझी गरिएका प्रचारबाजीले संस्थागत मर्यादामाथि आघात पुगेको उनको भनाइ छ ।

साथै, भ्रामक र आधारहीन सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्ति वा संस्थाविरुद्ध आवश्यक परे कानुनी तथा साइबर अपराधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत उनले दिएका छन् ।

अध्यक्ष शाहीले सम्पूर्ण सोरुवासीलाई आधिकारिक तथ्य र प्रमाणका आधारमा मात्रै धारणा बनाउन आग्रह गर्दै भ्रामक समाचारको प्रभावमा नपर्न अपिल गरेका छन् ।

दानबहादुर बुढा, नेपाल न्यूज बैंक