अन्तर्राष्ट्रिय योग दिवस कैलाश–मानसरोवरमा मनाइने

समाचार

काठमाडौं । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले यस वर्षको १२औँ अन्तर्राष्ट्रिय योग दिवस पवित्र तीर्थस्थल कैलाश–मानसरोवर क्षेत्रमा मनाउने भएको छ । संस्थाले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका अनुसार नेपालबाट शान्ति, ध्यान र प्रेमको सन्देश विश्वभर फैलाउने उद्देश्यका साथ पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस आयोजना गर्न लागिएको हो । कार्यक्रम आगामी असार ७ गते आयोजना हुनेछ ।

संस्थाले विगत एक दशकदेखि निःशुल्क योग, ब्रह्ममुहूर्त ध्यान, वैदिक शिक्षा, आत्मसाक्षात्कार तथा मानव चेतना विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

हाल समाजले अन्तर्राष्ट्रिय योग साधना केन्द्र तथा विभिन्न विश्वविद्यालयहरूसँग सहकार्य गरी ७० भन्दा बढी देशमा साधना अभियान सञ्चालन गरिरहेको छ । नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका र बेलायतलगायत ४७ देशमा संस्थाका शाखा तथा साधना केन्द्र रहेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाका अनुसार अन्तर्राष्ट्रिय योग प्रणेता योगी आचार्य राजन शर्माको नेतृत्वमा एक टोली असार ३ गते कैलाश–मानसरोवरतर्फ प्रस्थान गर्नेछ । योग दिवसका दिन त्यहाँ सामूहिक योग तथा ध्यान कार्यक्रम सञ्चालन गरिनेछ ।

समाजले कैलाश–मानसरोवर क्षेत्रमा योग दिवस मनाउनुको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देशका रूपमा स्थापित गर्दै यसको प्राचीन योग, तपस्या, ध्यान र आध्यात्मिक सभ्यतालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउनु रहेको जनाएको छ ।

भगवान् शिवको तपोभूमिका रूपमा परिचित कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तर्राष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनुलाई संस्थाले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ । कार्यक्रममा नेपाल, भारतलगायत विभिन्न देशका योगी, ध्यान साधक, योग शिक्षक, तपस्वी, अनुसन्धानकर्ता तथा आध्यात्मिक अभियन्तासहित सयभन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

संस्थाले पाँच हजार अन्तर्राष्ट्रिय योग शिक्षक उत्पादन गर्ने तथा संयुक्त राष्ट्र सङ्घसहित विश्व समुदायसमक्ष नेपाललाई ‘विश्वगुरु देश’का रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

साथै, उक्त अभियानले नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन र अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

समाजले नेपाललाई योग र ध्यानको उद्गमस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा युवापुस्तामा सकारात्मक चेतना विस्तार गर्न कार्यक्रम फलदायी हुने अपेक्षा गरेको छ । अभियान सफल बनाउन सरकार, सञ्चारमाध्यम, सञ्चारकर्मी तथा नागरिक समाजलाई सक्रिय सहयोग र सहभागिताका लागि पनि आग्रह गरिएको छ ।