काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से २६.८२ अंकले घट्दै २७५५.३७ विन्दुमा झरेको हो।
बजेटमार्फत पूँजीबजारका लागि केही सकारात्मक नीतिगत व्यवस्था घोषणा गरिए पनि आर्थिक विधेयकमा पूँजीगत लाभकर वृद्धि गरिएको विषयले लगानीकर्ताको मनोबल कमजोर बनाएको बजार विश्लेषकहरूको भनाइ छ।
नयाँ व्यवस्थाअनुसार पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले वृद्धि गरिएको छ। यससँगै अल्पकालीन लगानीकर्ताका लागि कर १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि साढे ७ प्रतिशत कायम गरिएको छ।

त्यस्तै, पूँजीगत लाभकरलाई अन्तिम कर (final tax) भनिए पनि विधेयकमा वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लगानीकर्ताको हकमा यो अन्तिम नहुने संकेत गरिएको छ। यही प्रावधानका कारण लगानीकर्ताहरूमा थप अन्योल र निराशा देखिएको छ।
सोमबार कारोबारमा आएका ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयरहरू ६३ हजार ७१९ पटक किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।
गत बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँ पुगेको थियो ।
सोमबारको कारोबारमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबारको कारोबारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको शीर्ष ५ मा कालिन्चोक हाइड्रोपावर, सिटिजन बैंक डेभेन्चर, सेन्टरल फाइन्यान्स र सिभिल बैंक डेभेन्चर रहेका छन् ।
यता, बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १३.२० प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बिशालबजार कम्पनी, एनआइबीएल समृद्धि फण्ड र नेपाल रिपब्लिक मिडिया शीर्ष ५ मा रहेका छन् ।
सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा आँखुखोला हाइड्रोपावर रहेको छ । आँखुखोला हाइड्रोपावरको सेयर ४३ करोड ४ लाख ५१ हजार रुपैयाँको कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको ३७ करोड १३ लाख ५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । हिमालयन रिइन्स्योरेन्सको २५ करोड ७७ लाख ३८ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, रिडी पावर कम्पनीको १७ करोड ८२ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेश्नल हाइड्रोपावरको १६ करोड ५८ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।
