काठमाडौं । ‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा…’ लाखौं स्रोता–दर्शकको मनमा बस्न सफल यो कालजयी गीतकी गायिका हुन् यशोदा पराजुली । नेपाली आधुनिक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएकी पराजुलीले मधुर स्वर र भावपूर्ण प्रस्तुतिबाट दशकौँदेखि स्रोताको मन जितेकी छन् ।
गायन यात्राकै क्रममा संगीतकार तथा उनका जीवनसाथी गणेश पराजुलीसँगको सहकार्य दाम्पत्य सम्बन्धमा परिणत भयो । संगीत र जीवन दुवैमा सहयात्री बनेका यो जोडीले विगत अढाई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय योगदान दिँदै आएका छन् ।
‘दिन ढल्यो अँधेरी रातमा’ मात्र होइन, यशोदा पराजुलीका आवाजमा सजिएका अन्य लोकप्रिय गीतहरू पनि स्रोतामाझ उत्तिकै प्रिय छन् । ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरु, हिमाल चुली मनतिर पानी भर्ने पँधेरो’ लगायतका गीतहरूले उनको गायकीलाई थप उचाइ दिएका छन् ।
रेडियो नेपालबाट सुरु भएको उनको सांगीतिक यात्रा आजपनि निरन्तर छ । समयसँगै संगीतका माध्यम र प्रविधि बदलिँदै गएपनि यशोदाको स्वरप्रतिको आकर्षण भने स्रोतामाझ उस्तै छ ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा यशोदाले अहिलेको संगीत क्षेत्र आफ्नो समयको तुलनामा धेरै सहज र अवसरयुक्त भएको बताइन् । उनले प्रविधि र सामाजिक सञ्जालको विस्तारले नयाँ कलाकारलाई स्थापित हुन सहज बनाएको धारणा व्यक्त गरिन् ।

हाल काठमाडौंमा रहेकी पराजुलीले विगतमा आफ्नो अधिकांश बसाइ हङकङमा भए पनि पछिल्ला करिब तीन वर्षदेखि नेपालमै बढी समय बिताइरहेको बताइन् । यस अवधिमा कार्यक्रमका सिलसिलामा युनाइटेड किङ्डम र संयुक्त राज्य अमेरिका समेत पुगेको उनले जानकारी दिइन् ।
उनका अनुसार अहिलेका कलाकारका लागि अवसर र माध्यम दुवै बढेका छन् । ‘हाम्रो समयमा एउटा रेडियो नेपाल र नेपाल टेलिभिजनमै सीमित हुनुपथ्र्यो । अहिले फेसबुक, टिकटकलगायत धेरै माध्यम छन् । एउटा राम्रो गीत आयो भने कलाकारलाई चिनिन र स्थापित हुन सजिलो भएको छ,’उनले भनिन् ।
तर सफलता टिकाइराख्न निरन्तर मेहनत आवश्यक रहेको उनको भनाइ छ । ‘क्षणिक रूपमा काम गरेर तुरुन्तै फल खोज्नेहरू धेरै समय टिक्न सक्दैनन् । सिकेर, मेहनत गरेर र समय लगानी गरेर अघि बढ्नेहरूका लागि अहिलेको समय राम्रो छ,’उनले भनिन् । पराजुलीले संगीत सिक्न चाहनेहरूका लागि अहिले गुरु र प्रशिक्षणका अवसर पनि प्रशस्त रहेको उल्लेख गरिन् । यसले नयाँ पुस्ताका कलाकारलाई दीर्घकालीन रूपमा अघि बढ्न सहयोग पुग्ने उनको विश्वास छ ।
उनले भनिन्, ‘अहिलेको कलाकारहरूलाई हाम्रो समय र अहिलेको कलाकारमा कम्प्यारिजन गर्दा सजिलो अप्ठ्यारोको हेर्दाखेरि अहिलेकोलाई धेरै सजिलो छ जस्तो लाग्छ । किनभने हाम्रो समयमा एउटा रेडियो नेपाल अनि कुनै भिजुएलहरू बनाइयो भने नेपाल टेलिभिजन मात्रैमा सीमित हुन्थ्यौँ, तर अहिले धेरै माध्यमहरू छन् । अहिले गुरु र प्रशिक्षणका अवसर पनि प्रशस्त छन् ।’
नेपाली कलाकारको जीविकोपार्जनका विषयमा बोल्दै उनले नेपालभित्रको बजार मात्र भरपर्दो नभएको बताइन् । उनले नेपालमै बसेर संगीतबाट मात्रै जीवनयापन गर्न सक्ने कलाकारको संख्या सीमित रहेको बताइन् ।‘विदेशमा रहेका नेपाली समुदायले कलाकारलाई धेरै सहयोग गरेका छन् । कहिलेकाहीँ आफन्त वा समाजले नै कलाकारलाई कार्यक्रममा बोलाएर प्रोत्साहन गर्छन् । यसले कलाकारलाई ठूलो टेवा पुगेको छ,’ उनले भनिन् ।
कुराकानीका क्रममा पराजुलीले आफ्नो पहिचान स्थापित गराएको चर्चित गीत ‘दिन ढल्यो अँधेरी रातमा’को केही अंश समेत गाएकी थिइन् । उनले उक्त गीतको शब्द ज्ञानेन्द्र गदालले रचना गरेको र संगीत उनका श्रीमान् गणेश पराजुलीले भरेको बताइन् ।पराजुलीका अनुसार विवाहअघि उनी मुख्यतः शास्त्रीय संगीतमा आबद्ध थिइन् । उक्त गीत रेकर्ड गर्दा उनी २१ वर्षकी थिइन् र त्यसबेला आफूलाई धेरैले नचिन्ने बताइन् ।
‘त्यो गीत यति लोकप्रिय होला, यही गीतले मलाई चिनाउनेछ भन्ने कल्पना पनि गरेको थिइन् । त्यतिबेला न सामाजिक सञ्जाल थियो, न अहिलेजस्ता प्रचारका माध्यम । रेडियो नेपालमा बजेकै भरमा गीत स्रोतमाझ पुग्यो,’ उनले सम्झिइन् ।
आजपनि स्टेज कार्यक्रम र महोत्सवहरूमा सहभागी हुँदा दर्शक–स्रोताले सबैभन्दा बढी यही गीत सुनाउन आग्रह गर्ने गरेको उनले बताइन् ।
पराजुलीले स्रोता–दर्शकप्रति आभार व्यक्त गर्दै नयाँ गीत र दृश्य सामग्री (भिजुअल) सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
‘स्रोताले सधैं माया गर्नुभएको छ । हामी नयाँ–नयाँ गीत ल्याउने प्रयासमा छौं । केही गीत रेकर्ड भइसकेका छन्, अब भिजुअलको तयारी पनि भइरहेको छ,’उनले भनिन् ।
दशकौंअघि रेकर्ड भएको ‘दिन ढल्यो अँधेरी रातमा’बाट स्थापित भएकी यशोदा आज पनि नेपाली संगीतप्रेमीमाझ उत्तिकै लोकप्रिय छिन् । उनका अनुसार कलाकारका लागि समय परिवर्तन भए पनि सफलता प्राप्त गर्न र त्यसलाई टिकाइराख्न निरन्तर साधना र मेहनत अपरिहार्य छ ।
