स्वर्णिम वाग्लेको ‘स्वर्णिम’ चुनौती: एकै दिन सुन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Sticky News बजार

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले नेपाली सुन बजारमा यस्तो झट्का दियो कि सुनको भाउले एकैदिन नयाँ उचाइ छोयो। सरकारले बजेटमार्फत सुनमा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि बजारमा सुनको मूल्य आकासिएको हो।

शुक्रबार बजेट सार्वजनिक भएसँगै सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर आइतबार ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो।

सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ थियो।

नेपालमा सुनचाँदीको मूल्य निर्धारण मुख्यतः अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा हुने भए पनि कर तथा भन्सार नीतिमा हुने परिवर्तनले घरेलु बजारमा तत्काल प्रभाव पार्ने गरेको छ। यसपटक बजेटको एउटा निर्णयले सुन बजारमा प्रत्यक्ष र नाटकीय असर देखिएको छ।