काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान र गणतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले भने, ‘नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो ।’

थापाले नेपाली जनताको त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएको उल्लेख गर्दै त्यसपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संविधानसभा निर्वाचन सम्पन्न भएको स्मरण गरेका छन् ।
उनले भने, ‘वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो । यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।’
उनले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् । साथै गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
