क्वारेन्टिनमा रहेकालाई जेठ ५ गतेपछि घर पठाइन्छ : स्वास्थ्यमन्त्री ढकाल

विविध

२०७७ जेष्ठ ०१ : काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई घर पठाइने बताएका छन् ।

१४ दिन क्वारेन्टिनमा बसेकाहरुको हकमा आरडीटी र अन्यको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनु भयो  ।

अहिले देशभरीका क्वारेन्टिनमा १५ हजार ६ सय जना रहेका छन् । मन्त्री ढकालले उनीहरुको सबैको परीक्षण गरी घर पठाइने बताउनु भएको हो ।

१४ दिनसम्म क्वारेन्टिनमा बसेकाहरुको हकमा आरडीटी परीक्षण र १४ दिन समय नपुगेकाहरुको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि घर पठाइने छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा सांसदहरुको जिज्ञासामा मन्त्री ढकालले  ‘क्वारेन्टिनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडीटी र नपुगेकाहरुको हकमा पीसीआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ । ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’

मन्त्रालयका अनुसार अहिले देशभरी ५३ हजार ८ सय ३५ जनालाई राख्न सक्ने क्षमताको क्वारेन्टिनहरु स्थापना भएका छन् । अहिले देशभरी २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा १ सय १, बागमति प्रदेशमा ३६ (उपत्यकामा ६ सहित), गण्डकीमा १ र प्रदेश नम्बर ५ मा १ सय १२ जना आइसोलेसनमा रहेका छन् । संक्रमित र सम्भावित संक्रमित व्यक्तिहरु आइसोलेसनमा उपचाररत रहेका छन् ।