२०८३ जेष्ठ १२

संसद प्रतिपक्षीको भएकाले आवाज उठाउनु स्वाभाविक :एमाले सांसद पद्मा अर्याल

Headlines राजनीति

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताएकी छन् ।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा भइरहेको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताइन् । उनले प्रतिपक्षीले उठाएका मागलाई सत्तापक्षले जुवारी खेलको रूपमा लिन नहुने धारणा राखिन् ।

अर्यालले संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री महिनामा कम्तीमा एक पटक उपस्थित हुनुपर्ने व्यवस्था नियमावलीमै रहेको उल्लेख गर्दै सो व्यवस्था कार्यान्वयन गराउन आफूहरूले ध्यानाकर्षण र विरोध जनाएको स्पष्ट पारिन् । उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै लोकतान्त्रिक संस्कार र राजनीतिक उत्तरदायित्व स्थापित गर्नु नै आफ्नो दलको मुख्य उद्देश्य रहेको बताइन् ।

उनले प्रतिपक्षको विरोध सधैँका लागि नभई नियमावलीले अनिवार्य गरेको दिन प्रधानमन्त्री उपस्थित नभए आन्दोलन र संघर्षको स्वरूपमा जाने चेतावनी दिइन् । संसद अवरुद्ध गर्ने उद्देश्य नभएको भन्दै आवश्यकताअनुसार मात्रै विरोध गरिने उनको भनाइ थियो ।

एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलेको भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै अर्यालले पार्टी बैठकमा अध्यक्षले राजीनामा दिनुपर्ने कुरा कुनै सदस्यले नउठाएको दाबी गरिन् । उनले पार्टीले चुनावी परिणामको वस्तुगत समीक्षा गर्न कार्यदल गठन गरेर एक महिनाको समय दिएको जानकारी दिइन् ।

उनले पछिल्लो निर्वाचनमा एमाले मात्रै नभई सबै पुराना राजनीतिक दलहरू कमजोर बनेको दाबी गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन परिवर्तन भएको बताइन् । वामपन्थी एकताको विषयमा बोल्दै उनले अहिले कुनै पनि राजनीतिक दलबीच औपचारिक छलफल नभएको स्पष्ट पारिन् । सबै दल अहिले आत्मसमीक्षा र आगामी रणनीति निर्माणमा केन्द्रित रहेको उनको भनाइ थियो ।