काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध दर्ता भएका १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया आजै अघि बढाइने भएको छ ।
यसका लागि संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८ बजे बस्दैछ । बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेका उजुरी खोल्ने तथा त्यसमाथि प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको छ ।
समितिले गत वैशाख २६ गते १० दिनको समयसीमा दिएर सर्वसाधारणबाट उजुरी आह्वान गरेको थियो । उक्त अवधिभित्र हिजो सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी दर्ता भएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्ले वैशाख २४ गते सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो । त्यसपछि सार्वजनिक सुनुवाइ प्रक्रियाअन्तर्गत उजुरी आह्वान गरिएको थियो ।
संसदीय सुनुवाइ समितिले आजै शर्माको नाम निर्णयार्थ पेस गर्दै अनुमोदन गर्ने तयारी गरेको छ । संसदीय सुनुवाइको इतिहासमा २०७५ सालमा तत्कालीन प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी अस्वीकृत भएयता अन्य कुनै पनि सिफारिस अस्वीकृत भएको उदाहरण छैन ।
हाल समितिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेकाले डा. शर्माको सिफारिस अस्वीकृत हुने सम्भावना न्यून देखिएको छ ।
