चोर नाकाबाट पसे तीन हजार

विविध

कपिलवस्तु । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन् । तीमध्ये संक्रमित एक महिला कपिलवस्तु नगरपालिकाका  स्वास्थ्यकर्मी हुन् । बुधबार कोरोना पुष्टि भएका पुरुष पनि भारतको महाराष्ट्रबाट वैशाखको तेस्रा साता लकडाउनको बेला लुकिछिपी नेपाल प्रवेश गरेका हुन् ।  आज फेला परेका संक्रमित कपिलवस्तु –४ का २२ वर्षीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । यससंँगै कपिलवस्तु नगरपालिकामा मात्र संक्रमित नौ जना पुगेका छन् ।

पछिल्लो तीन दिनमै भारतका विभिन्न शहरबाट फर्केका करीब तीन हजार चार सय मानिस सीमा नाकाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका छन् । कोरोना भाइरसका कारण जारी लकडाउनका बेला भारतमा खुकुलो भएपछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सीमा नाकाबाट लुकिछिपी आउने क्रम बढेको छ ।  वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिवेदनमा जिल्लाका क्वारेन्टाइनमा एक हजार ३७९ जना मात्र थिए । मंगलबार सो संख्या बढेर चार हजार ७८८ जना पुगेको छ ।