कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना

विविध

३१ वैशाख, काठमाडौं । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । नेपाली सेनाको एम–१६ हेलिकोप्टर मार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो । विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन । छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।