२०७७ बैशाख ३१ : काठमाडौं – दार्चुलाको लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ ।
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको हो। सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ ।
सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली त्यसतर्फ गएको छ ।
नेपाली भूमिमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेपछि नेपालमा व्यापक विरोध भएको छ । सरकारले अतिक्रमित क्षेत्रको सीमा सुरक्षाका सशस्त्र प्रहरी चौकी स्थापना गर्न लागेको हो ।
केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो ।
सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको चौकी स्थापना गर्न लागेको हो।
सरकारले गत मंसिरमै त्यहाँ बिओपी राख्ने निर्णय गरेको थियो । मंसिरअघि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो ।
मंसिरयता जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिनु भयो ।



