काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ।
अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

नेपालको संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
संयुक्त बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३:४५ बजेसम्म उपस्थित हुन संसद् सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक छुट्टाछुट्टै बस्नेछन्।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी सदनलाई गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ।
साथै, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी भएको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ।
यसैगरी, सरकारले जारी गरेका विभिन्न आठ अध्यादेश संसद्मा प्रस्तुत गरिनेछन्। तीमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ लगायत रहेका छन्।
राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू पेस गरिने संसद् सचिवालयले जनाएको छ।
