काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त गरेको छ । बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता (२:१ अनुपात) हकप्रद शेयर बिक्री गर्ने अनुमति पाएको हो ।
नेपाल राष्ट्र बैंकले वैशाख १७ गते पत्रमार्फत हकप्रद शेयर निष्काशनका लागि पूर्वस्वीकृति प्रदान गरेको बैंकले जनाएको छ । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो ।
अब बैंकले जेठ १८ गते बोलाइएको २८औँ वार्षिक साधारण सभामा हकप्रद निष्काशनसम्बन्धी विशेष प्रस्ताव पेश गर्नेछ । साधारण सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र हकप्रद निष्काशन प्रक्रिया अघि बढ्नेछ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । बैंकले २:१ अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनमार्फत ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको थप पुँजी जुटाउने प्रस्ताव गरेको हो ।
