हाल श्रमिकहरू न्यून पारिश्रमिक, अस्थायी रोजगारी र सामाजिक सुरक्षाको अभावबाट पीडित छन् । सरकारले तोकेको न्यूनतम तलबले दैनिक जीवन धान्न नसक्ने अवस्था छ । बढ्दो महँगीका बीच श्रमिक वर्ग झन् समस्यामा पर्दै गइरहेका छन् ।
प्रेमल कुमार खनाल, अध्यक्ष, पेसागत महासंघ
काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे १ मा मनाइने यो दिवस श्रमिकहरूको ऐतिहासिक संघर्ष, बलिदान र अधिकारको प्रतिकका रूपमा स्थापित हुँदै आएको छ ।

पेसागत महासंघका अध्यक्ष प्रेमल कुमार खनालका अनुसार मे दिवस केवल एक औपचारिक उत्सव नभइ श्रमिकहरूले आफ्नो हक–अधिकारका लागि गरेको त्याग र संघर्षको जीवित प्रतिक हो ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मे दिवसले श्रमिकहरूलाई एक ठाउँमा उभिन, आफ्नो अधिकारको रक्षा गर्न र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न प्रेरित गर्ने धारणा राखे ।
उनले भने,‘मे दिवसले श्रमिकहरूलाई एक ठाउँमा उभिन, आफ्नो अधिकारको रक्षा गर्न र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न प्रेरित गर्छ ।’ उनले यसलाई श्रमिक वर्गको साझा पहिचान र ऐक्यबद्धताको दिनका रूपमा व्याख्या गरे।
मे दिवसको ऐतिहासिक पृष्ठभूमि सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको मजदुर आन्दोलनसँग जोडिएको छ । त्यतिबेला उद्योगधन्दा र कारखानामा काम गर्ने मजदुरहरूलाई अत्यन्तै कठोर परिस्थितिमा १८ घण्टासम्म काम गर्न बाध्य पारिन्थ्यो।
न्यून पारिश्रमिक, कुनै सामाजिक सुरक्षा नहुनु र श्रम अधिकारको पूर्ण अभावका बीच मजदुरहरूले आफ्नो मानवअधिकार सुनिश्चित गर्न सडक संघर्ष सुरु गरेका थिए ।
करिब पाँच लाख मजदुरहरू ‘८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जन’ को मागसहित आन्दोलनमा उत्रिएका थिए, जसले विश्व श्रम आन्दोलनमा ऐतिहासिक मोड ल्यायो ।
तर उक्त आन्दोलन शान्तिपूर्ण रूपमा टुंगिन सकेन । सरकारद्वारा गरिएको दमनका क्रममा गोलीकाण्ड भयो र धेरै मजदुरहरूले ज्यान गुमाए ।
मजदुर नेताहरूको हत्या र व्यापक दमनका बाबजुद पनि आन्दोलन रोकिन सकेन र निरन्तर संघर्षपछि अन्ततः श्रमिकहरूको माग क्रमशः सम्बोधन हुन थाले । यही घटनाले अन्तर्राष्ट्रिय श्रम आन्दोलनलाई नयाँ दिशा दियो र सन् १८९० देखि मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने परम्परा सुरु भयो । त्यसयता यो दिवस विश्वभर श्रमिकहरूको सम्मान, अधिकार र एकताको प्रतीकका रूपमा स्थापित भएको छ ।
खनालका अनुसार नेपालमा पनि मे दिवसको महत्व उत्तिकै रहेको छ, तर श्रमिकहरूको वास्तविक अवस्था भने अझै चुनौतीपूर्ण छ । उनले अहिलेको अवस्थामा श्रमिकहरू न्यून पारिश्रमिक, अस्थायी रोजगारी र सामाजिक सुरक्षाको अभावबाट पीडित रहेको बताए । सरकारले तोकेको न्यूनतम तलबले दैनिक जीवन धान्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले बढ्दो महँगीका बीच श्रमिक वर्ग झन् समस्यामा परेको बताए ।
विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा श्रमिकहरूको अवस्था दयनीय रहेको उनको भनाइ छ। बालशिक्षिका, विद्यालयका अस्थायी शिक्षक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले न्यून पारिश्रमिकमा अत्यधिक काम गर्नुपर्ने अवस्था रहेको उनले बताए।
‘आठ–दस हजार रुपैयाँ तलबमा दिनभर काम गर्नुपर्ने अवस्था छ, जुन आजको बजार मूल्यसँग कुनै हालतमा मेल खाँदैन,’ यसलाई उनले श्रम शोषणको संज्ञा दिएका छन् ।
त्यसैगरी, करार र ज्यालादारी प्रणालीको विस्तारले श्रमिकहरूको रोजगारी अस्थिर बन्दै गएको छ । लामो समयसम्म काम गरे पनि स्थायी नियुक्ति नपाउने, सेवा सुविधा नपाउने र भविष्यप्रति असुरक्षा रहने अवस्थाले श्रमिकहरू मानसिक रूपमा पनि दबाबमा रहेको उनले बताए ।
उनका अनुसार श्रमिकले त्रासमुक्त वातावरणमा काम गर्न पाउनु नै आधारभूत अधिकार हो, तर अहिले पनि धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा बाँचिरहेका छन् ।
खनालले आर्थिक संरचनामा देखिएका समस्या पनि श्रमिक अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको बताए । बैंकिङ क्षेत्रमा ठूलो परिमाणमा पूँजी भएपनि त्यसको सही उपयोग हुन नसकेको उनको भनाइ छ ।
‘जनताबाट संकलित निक्षेप सीमित ठूला व्यवसायीहरूमा केन्द्रित भएको छ, जसले गर्दा विपन्न वर्ग र साना उद्यमीहरू लगानीबाट वञ्चित भएका छन्,’उनले भने । उनका अनुसार यसले रोजगारी सिर्जना र उत्पादन वृद्धि दुवैमा असर पारेको छ ।
भूमि व्यवस्थापन र कृषि क्षेत्रतर्फ पनि उनले सरकारको ध्यान जानुपर्ने बताए। देशमा ठूलो परिमाणमा खेतीयोग्य जमिन बाँझो रहेको उल्लेख गर्दै उनले त्यसको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको बताए।
उनले भने,‘स्थानीय तहलाई जिम्मेवार बनाएर कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ भन्ने योजना बनाएर अघि बढ्नुपर्छ । देशमा ठूलो परिमाणमा खेतीयोग्य जमिन बाँझा छन् । भूमि व्यवस्थापन र कृषि क्षेत्रतर्फ पनि उनले सरकारको ध्यान जान जरुरी छ ।’ यसले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ ।
त्यसैगरी, उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारिकरणबाट मुक्त गरी आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा हुनुपर्ने उल्लेख गर्दै उनले राज्यले यसमा स्पष्ट नीति र लगानी बढाउनुपर्ने उनको भनाई छ ।
अध्यक्ष खनालले देशमा रहेको सम्भावनालाई सही ढंगले उपयोग गर्नसके आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने बताए। नेपाल भौगोलिक, जैविक र सांस्कृतिक विविधताले सम्पन्न देश भएकाले कृषि, पर्यटन र उद्योग क्षेत्रमा ठूलो सम्भावना रहेको उनको भनाइ छ । तर त्यसका लागि स्पष्ट दृष्टिकोण, दीर्घकालीन योजना र राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उनले उल्लेख गरे ।
मे दिवसको अवसरमा उनले श्रमिकहरूको जीवनस्तर सुधारका लागि जीवन निर्वाह गर्न पुग्ने तलब, सामाजिक सुरक्षा, स्थायी रोजगारी र समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए । साथै, श्रमिकहरूको वृत्ति विकासका लागि स्पष्ट प्रणाली निर्माण गर्नुपर्ने उनले बताए ।
उनको अनुसार नेपालसहित विश्वका विभिन्न देशहरूमा मे दिवस ¥याली, सभा, गोष्ठी र विविध कार्यक्रममार्फत मनाइँदै छ ।
कतिपय देशमा यसलाई उत्सवका रूपमा मनाइन्छ भने कतिपय स्थानमा अझै पनि अधिकार प्राप्तिका लागि संघर्षको दिनका रूपमा मनाइन्छ । नेपालमा पनि विभिन्न श्रमिक संगठनहरूले आफ्ना मागहरू अघि सार्दै कार्यक्रम आयोजना गरेका छन् ।
मे दिवस केवल विगतको सम्झना मात्र नभई वर्तमान अवस्थाको मूल्याङ्कन र भविष्यको दिशा तय गर्ने अवसर पनि हो।
श्रमिकहरूको सम्मान, अधिकार र सुरक्षालाई सुनिश्चित गर्न सके मात्र समृद्ध र न्यायपूर्ण समाज निर्माण सम्भव हुने खनालको भनाइ छ। ‘श्रमिकको अधिकार सुनिश्चित भएन भने विकासको कुनै पनि मोडेल दिगो हुन सक्दैन,’ उनले स्पष्ट पारे।
प्रमिला कार्की, नेपाल न्यूज बैंक
