स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

Headlines अपराध तथा सुरक्षा

सिरहा । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक(डीएसपी)विजय हमाललाई स्थानीयसँगको विवादपछि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार स्थानीयसँग भएको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग सम्बन्धी विषयमा छानबिन गर्न उनलाई बाहिनी तानिएको हो।

हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय र प्रहरीबीच विवाद भएको थियो ।

सोही क्रममा डीएसपी हमाल आक्रोशित रूपमा प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियोमा उनले स्थानीयलाई गाली गरेको सुन्न सकिन्छ ।

यसप्रति आपत्ति जनाउँदै स्थानीयहरूले प्रतिवाद गरेका छन् । उनीहरूले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेर प्रहरी आफैंले नै तस्करीको आरोप लगाउनु विरोधाभासपूर्ण भएको बताएका छन् ।

भिडियोमा डीएसपी हमाल बीआर ०६ डीवाई ३०४१ नम्बरको मोटरसाइकलमा हेलमेट लगाएर आएको देखिन्छ । विवाद चर्किएपछि स्थानीयले सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए ।
स्थलगत निरीक्षणपछि सांसद यादवले सम्पूर्ण स्थानीयलाई ‘तस्कर’को आरोप लगाउनु गैरकानुनी र अनुचित भएको टिप्पणी गरेका छन् ।

साथै प्रहरी पोशाकमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गरी नागरिकलाई त्रसित पार्ने कार्य अस्वीकार्य रहेको बताउँदै घटनाको निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।

घटनापछि स्थानीयवासीहरूले संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन् । यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले स्थानीय र प्रहरीबीचको विवादकै कारण डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरी हेडक्वार्टरमा तानिएको जानकारी दिए ।
डीएसपी हमाल यसअघि सशस्त्र प्रहरी बल अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत थिए।