सुर्खेत । सधैँ शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्दै आएको कर्णालीमा यो वर्ष भने विद्यालय भर्ना सुरु हुन अगावै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइएको छ ।
गत चैत १ गतेदेखि कर्णालीका विभिन्न जिल्लाहरूमा पाठ्यपुस्तक पुर्याइएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख जमुना ढकालले बताइन् । ‘कर्णालीका १० जिल्लाका लागि दश लाख थान पुस्तक ल्याइएको थियो’ उनले भनिन्, ‘धेरै स्थानमा पुस्तक पुर्याइसकिएको र छुटेका जिल्लाहरूमा पठाउने काम भइरहेको छ ।’
कर्णालीका हिमाली जिल्लाहरूमा पहिलो चरणमा र बाँकी जिल्लाहरूमा दोस्रो चरणमा पठाइएको उनले बताइन् । चैत १ गतेदेखि १४ गतेसम्म डोल्पा र हुम्ला, चैत ५ गतेदेखि १६ गतेसम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालिकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते तीन दिन सुर्खेतका लागि पाठ्यपुस्तक वितरण गरिएको उनले बताइन् ।

सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा नियमावली २०७८ ले नयाँ शैक्षिक सत्र २ वैशाख र पठनपाठन १६ वैशाखबाट सञ्चालन गर्ने भनेको छ । कर्णालीका केही स्थानीय तहहरूले भने भर्ना अभियान सुरु गरिसकेका छन् । विद्यार्थी भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाए समयमै पाठक पाठन हुने विश्वास गरिएको छ । जनक शिक्षाले सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइ सक्दा गोदाममा सात हजार थान मौज्दात रहेकोले आवश्यकता अनुसार पठाउने तयारी जनक शिक्षाले गरेको छ ।
कर्णालीका पहाडी जिल्लाहरूमा भर्ना अभियान सुरु भई सकेको छ । मुगुको छायानाथ रारा नगरपालिकाले वैशाख ७ गतेदेखि पालिकाभर भर्ना अभियान सुरु गरेको जनाएको छ । ९ देखि १५ गतेसम्म भर्ना अभियान र १६ गतेदेखि पठनपाठन सुरु गर्ने तयारी भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख विवेक विकले जानकारी दिए । डोल्पाको मुड्के चुला, शे फोक्सुन्डो गाउँपालिका गाउँपालिका र सानी भेरी नगरपालिकाले भर्ना अभियान सुरु गरिसकेका छन् ।
केही स्थानीय तहले आइतबार विद्यालय बन्द नगर्ने
कर्णालीका कतिपय स्थानीय तहले सरकारले दिएको हप्तामा दुई दिन बिदा नगर्ने निर्णय गरेका छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको अधिकार सूचीमा रहेको भन्दै आइतबार बिदा नदिने निर्णय गरेका हुन् । नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको पालिकाका जनप्रतिनिधिको भनाइ छ ।
मुगुको छायानाथ रारा नगरपालिका, डोल्पाको मुड्के चुला, शे फोक्सुन्डो गाउँपालिका गाउँपालिका र सानी भेरी नगरपालिका, जुम्लाको कनक सुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकालगायतका स्थानीय तहले आइतबार बिदा नदिने निर्णय गरेका छन् । ‘सरकारले थप गरेको आइतबार विदाले पाठ्य भार पुरा गर्न नसकिने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो’ छायानाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख विकले भने, ‘नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने भएका छौ ।’
डोल्पाको मुड्के चुला गाउँपालिकाको ३ वैशाखमा बसेको गाउँ शिक्षा समितिको बैठकले सरकारको गरेको निर्णय लागू गर्न नसकिने निर्णय गरेको छ । हिमाली जिल्लामा चिसोका कारणले पाठ्य भार पूरा गर्न नसकिने भन्दै आइतबार बिदाको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख गोपाल बुढाले बताए । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाले वैशाख १५ गतेसम्म भर्ना अभियान र १६ गतेबाट पठनपाठन सुरु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशराज जैसीले बताए ।
डोल्पाको ठुली भेरी नगरपालिकाले पनि सरकारको निर्णय कार्यान्वयन नगरी पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा समितिले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरूमा पनि पठनपाठन सुचारु हुने जनाएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार पालिकाभित्रका २९ वटै सामुदायिक विद्यालय वैशाख १५ गतेदेखि पूर्ण रूपमा सञ्चालन गरिने छ । सिँजा गाउँपालिकाले वैशाख ८ गतेदेखि पालिकाभित्रका सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि यहाँका कनक सुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डरअनुसार शैक्षिक सत्र कार्यक्रम सुरु गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
