नेपाललाई जानकारी नदिई चीनको टोली सगरमाथाको उचाइ नाप्दै

विविध

नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ । तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन । ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरुसहित सगरमाथाको फेदीमा पुगेका छन् । नेपाल सरकारको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगिसकेको र केही पटक सगरमाथाको फेदी र वरिपरिका क्षेत्रमा विभिन्न अध्ययनमा पूरा गरी उचाइ नाप्ने कार्य अगाडी बढाइरहेका पनि छन्। यस्तो अवस्थामा चीन सरकारले हतारिएर सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले सन्देह पैदा गरेको छ । सगरमाथा आरोहणका लागि पनि चीनले उत्तरी मोहोराबाट मात्रै आरोहण अनुमति दिने गर्दछ । बाँकी मोहोराहरुबाट आरोहीहरुले नेपालकै अनुमतिमा सगरमाथा चढछन् । यही उत्तरी मोहोरातर्फ चीनले सगरमाथाको उचाइ नाप्ने कार्य शुरु गरिसकेको छ । तर, के एउटा मोहोराबाट मात्रै सगरमाथाको उचाइ नाप्न सम्भव छ ? अवश्य छैन किनकि उचाइ नाप्न सबै मोहोराहरुकै प्रयोग हुनुपर्दछ । पूर्व, पश्चिम र दक्षिण मोहोरा नाप्नुपर्दा नेपाली भूमिको प्रयोग हुन्छ । अनि नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक पर्दैन?

यही मे महिनाको ३ तारिक चिनियाँ सरकारको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको समाचारअनुसार, परम्परागत र आधुनिक दुवै विधि र प्रविधि प्रयोग गरी चीनले सगरमाथाको उचाइ नाप्ने प्रयास गरेको छ । सो समाचारअनुसार, यसअघि पनि केही पटक चीनले सगरमाथाको नाप गरिसकेको र १९७५ मा गरेको सर्भेमा सगरमाथाको उचाइ ८८८४.१३ मिटर र सन् २००५ मा गरेको सर्बेमा ८८४४.४३ मिटर चाइ पत्ता लागेको उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमणका बेला जारी संयुक्त बक्तब्यमा नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्तरुपमा नाप्ने कुरा उल्लेख गरिएको थियो। यसको अर्थ नेपाललाई थाहै नदिई नेपाली भूमि प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न पाइन्छ भन्ने चाहिँ पटक्कै होइन ।