काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल कम्यूनिष्ट पार्टी इतिहासकै रक्षात्मक अवस्थामा पुगेका बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को ७७औँ स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै रिजालले पार्टीलाई पहिलाकै अवस्थामा फर्काउन कम्तीमा तीन वटा प्रश्नको जवाफ खोज्नुपर्ने उनले बताएका छन् ।
रिजालले २०४६ सालयता नेकपा सबैभन्दा बढी रक्षात्मक, सङ्कटग्रस्त र बहसको अवस्थामा आएको उल्लेख गरेका छन् । एमालेका चार र तत्कालीन माओवादीका दुई जना गरी छ जना प्रधानमन्त्री बनाइसकेको पार्टी यस पटक प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियत पनि प्राप्त नगर्नु गम्भीर चिन्ताको विषय भएको रिजालको धारणा छ । रिजालले पार्टीलाई प्रतिकुलताबाट अनुकूलतामा बदल्न कम्तीमा तीन वटा प्रश्नको जवाफ खोजेर सुधारको बाटोमा लैजानु पर्ने बताएका छन् ।
रिजालका अनुसार पराजित मनोविज्ञान,भद्रा कमिटी,अव्यवस्थित संगठन प्रणाली,पुरानै चिन्तन र म बाट सुरु भएरै ममै अन्त्य हुने कार्यशैलीकै रक्षात्मक बनेको कम्यूनिष्ट आन्दोलनलाई पहिलै कै अवस्थामा पु¥याउन सक्छौँ भनेर जवाफ खोज्नुपर्ने छ । यसै गरी पार्टीमा सुधार, परिवर्तन र परिमार्जनका लागि केही घोषणा गरेर नयाँ आशाको सञ्चार गर्न सक्छौँ रु यस प्रश्नको पनि जवाफ खोज्नुपर्ने रिजालको भनाइ छ । रिजालले युवा पुस्ता (जेनजी)ले सुन्न,बुझ्न र अंगाल्न सक्ने पार्टीका रूपमा नेकपालाई विकास गर्न सक्छौँ भन्ने प्रश्नको पनि जवाफ खोज्नुपर्ने बताएका छन् ।
‘चिन्ता मात्र होइन,चिन्तन गरौँ । धेरै बिग्री सकेको छ,केही अझै बचाउन सकिन्छ’ रिजालले कम्यूनिष्ट दर्शन उल्लेख गर्दै लेखेका छन,् ‘विनाश वा विकासका लागि आन्तरिक कारण प्रधान हुन्छ , दोष अरूतिर मात्रै फर्काएर समस्याबाट मुक्त भयौँ भन्दा यस भन्दा ठुलो दुर्घटनाले प्रतीक्षा गरेको हुन्छ ।’

नेपाल कम्यूनष्टि पार्टीको स्थापना २००६ साल वैशाख ९ गते अर्थात् २२ अप्रिल १९४९ मा भएको थियो । यसका संस्थापक पुष्पलाल श्रेष्ठ,नरबहादुर कर्मचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ हुन् ।
