नेपाल बैंकर्स संघका प्रतिनिधिहरू र अर्थमन्त्रीबीच भेटवार्ता

बैंक/वित्त

काठमाडौँ । नेपाल बैंकर्स संघका प्रतिनिधिहरू र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा नीतिगत कारणले उत्पन्न भइरहेका चुनौतीहरूबारे स्पष्ट र व्यवहारिक सुझाव प्रस्तुत गर्न बैंकरहरूलाई आग्रह गरे ।

त्यस अवसरमा संघका प्रतिनिधिहरूले हाल देखिएका विभिन्न जटिल समस्याहरूबारे मन्त्रीको ध्यानाकर्षण गराउँदै सुधारका केही महत्वपूर्ण प्रस्ताव अघि सारे । उनीहरूले खराब कर्जा व्यवस्थापनको पुनरावलोकन, गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा स्थानीय तहबाट सिफारिस लिन सहज बनाउने व्यवस्था, साथै उठ्न बाँकी आम्दानीमा कर तिर्ने प्रक्रियालाई सरल बनाउने माग गरेका थिए ।

बैंकहरूले यी तीन व्यवस्थाका कारण वित्तीय व्यवस्थापनमा दबाब परेको उल्लेख गर्दै नीतिगत सुधार अपरिहार्य भएको धारणा व्यक्त गरे । जवाफमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार सकारात्मक रहेको बताए ।

उनले आगामी प्रि–बजेट छलफलका क्रममा बैंकहरूसँग पुनः संवाद गरी थप सुझाव संकलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । साथै, उनले आवश्यक नीतिगत सहजीकरणका लागि आफू तत्पर रहेको जानकारी दिएका छन् ।