२०७७ बैशाख २७ : काठमाडौँ – चीनले सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न सुरु गरिसकेको छ । चिनियाँ टोलीले तिब्बती मोहडाबाट उचाई नापिरहेका छन् ।
गत अप्रिल ३० मै सगरमाथा बेस क्याम्प पुगेर आरोहणको तयारी थालेको चिनियाँ टोली यतिबेला ६ हजार ५ सय मिटरको उचाइमा छन् ।
हाल उनीहरुले सगरमाथा आरोहण स्थगित गरेर आराम गरिरहेको सिन्ह्वाले जनाएको छ । हिमपहिरोको खतरा भएकाले यतिबेला उनीहरुले ७ हजार २८ मिटरको उचाईमा पुग्ने योजना स्थगित गरेका हुन् ।

सगरमाथाको उचाई नाप्नको लागि ३० चिनियाँ सर्वेक्षणकर्ताहरु खटेका छन् । शनिबार ७ हजार २८ मिटरमा पुग्ने लक्ष्य राखेका टोली ६ हजार ७ सय मिटरको उचाईमा पुगिसकेका थिए । तर बाटोमा बाक्लो हिउँ देखेपछि पहिरो जाने खतरा मध्यनजर गर्दै टोली फेरि ६ हजा ५ सय मिटरको क्याम्पमा फर्किएका छन् ।
चिनियाँ टोलीमा प्राकृतिक संसाधन मन्त्रालयका सदस्यहरु पनि समावेश छन् । चिनियाँ सर्वेक्षणकर्ताहरु पूर्णतया हिमाल चढ्न प्रशिक्षित भएको बताइएको छ । तिब्बती भाषमा सगरमाथालाई चोमोलोङ्मा भनिन्छ । सन् १९७५ र २००५ मा पनि सगरमाथाको उचाई नापिएको थियो । सन् १९७५ मा यसको उचाई ८ हजार ८४८ मिटर रहेको पाइएको थियो । त्यस्तै सन् २००५ मा यसको उचाई ८ हजार ८४४ रहेको पाइएको थियो ।
