मिडिया हाउसअगाडिको शङ्कास्पद पार्किङ अस्वाभाविक, दोषी जो भए पनि कारबाही हुन्छ : रवि लामिछाने

Sticky News राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न मिडिया हाउसअगाडि शङ्कास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनालाई अस्वाभाविक भन्दै निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले उक्त घटनाप्रति पार्टीको धारणा सुरुदेखि नै स्पष्ट रहेको बताए।

उनले भने, “यो गलत हो भनेर पार्टीले पहिल्यै भनिसकेको छ। हामीले यसको निष्पक्ष छानबिन हुनुपर्छ पनि भनेका छौं। घटनाप्रति हाम्रो दृष्टिकोण स्पष्ट छ। तर, जुन प्रकारको प्रवृत्ति देखियो, त्यो अस्वाभाविक थियो।”

घटनामा रास्वपाका नेता वा कार्यकर्ता संलग्न रहेको पुष्टि भए उनीहरूमाथि पनि कानुनअनुसार कारबाही हुने उनले स्पष्ट पारे।

रास्वपाकै कार्यकर्ता संलग्न भए पनि कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, “त्यस्तो पनि प्रश्न हो र? रास्वपा त्यस्तो पार्टी हो, जसले आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको इतिहास छ। रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ? जो भए पनि कारबाही हुन्छ।”