काठमाडौँ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन सेयर बजार परिसुचकमा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९.११ अंकमा पुगेको छ । गत शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । सरकार गठन भएपछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
आइतबार कारोबारमा आएका ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयरहरू १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँमा किनबेच भएका छन् ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १४.२१ अंकले बढेर २९५०.१६ अंकमा पग्दा कारोबार रकम १३ अर्ब १६ करोड २२ लाख ९८ हजार रुपैयाँ पुगेको थियो ।

समग्र बजारमा उच्च अंकको गिरावट आउँदा पनि रिलाइन्स स्पिनिङ् मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज इनर्जी, सुर्यकुण्ड हाइड्रो र भुजुङ्ग हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यता, युनिक लघुवित्तको सेयर मूल्य ६.१७ प्रतिशतले घटेको छ । हिमालयन बैंक २०८६ बण्डको इकाई मूल्य ५.६२ प्रतिशतले घटेको बजारमा हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य ५.४५ प्रतिशत, अभियान लघुवित्तको सेयर मूल्य ५.३९ र माउन्टेन हाइड्र नेपालको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ ।
कारोबार संख्याको आधारमा रिदि पावर कम्पनी ७१ करोड ११ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको बजारमा ङ्यादी ग्रुप पावर ५२ करोड २८ लाख ६३ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा १८ लाख ७६ हजार ९२१ इकाईको कारोबार सहित रिदि पावर शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा ५९ हजार ३८२ पटकको कारोबार सहित सोलु हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।
आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४८ खर्ब ८८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ कायम भएको छ । बिहीबार बजारपूँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ कायम भएको थियो ।
