काठमाडौं, वैशाख २२ः केही हप्ता अघिसम्म कोरोना भाइरस संक्रमणको केन्द्रविन्दुका रुपमा रहेका युरोपेली देशहरुमा कोरोना संक्रमणका कारण हुने मृत्युदरमा निकै कमी आएको छ ।
मृत्युदरमा कमी आएसँगै ती देशहरुले लकडाउन खुकुलो बनाउने योजना बनाएका छन् । भाइरसको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित इटाली, स्पेन र फ्रान्समा दैनिक मृत्युदर दुई महिना यताकै कम भएको छ ।
फ्रान्समा दैनिक मृत्युदर १३५ जनामा झरेको छ । यसैगरी स्पेनमा १६४ जनाको मृत्यु भएको छ भने इटालीमा १७४ जनाको मृत्यु भएको छ । मार्च महिनाको सुरुवाती दिनमा दैनिक एक हजार माथिको संख्यामा मानवीय क्षति व्यहोरेका यी मुलुकहरुको यो दर निकै कम हो ।

युरोपमा कोरोनाको इपिसेन्टर मानिएका यी मुलुकमा संक्रमण र मृत्युदरमा कमी आएपनि रुस भने कोरोनाको हटस्पट बनेको छ । रुसमा एकै दिनमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
संक्रमण धेरै भएपनि अन्य देशको तुलनामा रुसमा कोरोनाका कारण हुने मृत्युदर भने कम रहेको छ । रुसमा हालसम्म १ हजार २ सय ८० जनाको मृत्यु भएको छ । आइतबार एकैदिन त्यहाँ ५८ जनाको मृत्यु भएको थियो ।
विश्वमा २१० मुलुकमा फैलिएको कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा ६५ हजारभन्दा बढी मानिसको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि ११ लाख ५७ हजारभन्दा बढी रहेको छ । विश्वभर २ लाख ४७ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि ३५ लाख भन्दा बढी पुगेको छ ।-

