भारत सरकारले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा गराएको छ । भारत सरकारले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाको उपचारमा आफ्नो ज्यानको जोखिम मोलेर काम गरिरहेका उनीहरुको सम्मानमा हेलिकोप्टरबाट पुष्प वर्षा गरेको हो ।
आइतबार भारतका तीन सेना (थलसेना,वायुसेना र नौसेना) ले आ आफनो तरिकाले आकाशबाट पुष्प वर्षा गरी चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी एवं अस्पतालमा खटिएका कर्मचारीका लागि सम्मान गरेको हो ।
कोरोना योद्धाका नाममा सरकारका तर्फबाट यो सम्मान गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । आइतबार जहाँ जहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ ती अस्पताल माथि हेलिकोप्टरबाट फूलको वर्षा गर्दै आभार प्रकट गरिएको थियो ।

भारतीय सरकारले कोरोनाको लडाइँमा अघि सरेका योद्धालाई आभार प्रकट गर्न यस्तो गरिएको जनाएको छ । हेलिकोप्टरबाट पुष्प वर्षा गर्दा सबै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारी चौरमा भेला भएका थिए । भारतमा सोमबार बिहानसम्म सम्म ४२ हजार ५ सय ३३ जनाका कोरोना पुष्टि भएको छ भने एक हजार ३ सय ७३ जनको मृत्यु भइसकेको छ ।
