रुपन्देहीमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका- १ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देहीका प्रमुख प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले अन्नपूर्णलाई बताए । अर्को आदेश नभएसम्म सिल गरिएको उक्त गाउँमा आवतजावत गर्न पाइँदैन । उक्त गाउँसहित बाहिरी क्षेत्रमा चारैतिर प्रहरी परिचालन गरिएको छ । गाउँलेलाई खाद्यान्न र आपतकालिन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन् ।
कोटहीमाईलगायत अन्य क्षेत्रमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ, एसपी थापाले भने, सर्वसाधरणको मुभमेन्टलाई पूर्णरुपमा रोक लगाएको छ । भारतको दिल्लीमा मजदुरी गर्दै आएका संक्रमित युवालाई लकडाउनले समस्या परेपछि बैशाख ५ गते उनी सम्मरीमाई गाउँपालिकाको ठोठरी नाकाबाट लुकेर प्रवेश गरेका थिए ।

प्रवेश गर्ने क्रममा उनका दाइ सीमामा पुगेका थिए। तर, सीमाबाट घर नपर्याइ स्थानीय क्वारेन्टाइनमा लगेर राखेका थिए । बैशाख १७ गते क्वारेन्टाइनमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हो ।
अहिले ती युवा अस्थायी विशेष कोरोना अस्पतालमा बुटवलमा उपचारत छन् । उनको स्वास्थ्य अवस्थामा समान्य रहेको बताइएको छ । सीमामा लिन गएका दाइलाई क्वारेन्टाइनमा पठाइसकेका छौँ, एसपी थापाले अन्नपूर्णसँग भने, परिवारलाई पनि भोली क्वारेन्टाइनमा पठाइने छ र सबैको स्वास्थ्य परीक्षण हुनेछ ।
