चिनियाँ राजदुतद्वारा नेकपाका नेताद्वय दाहाल र नेपालसङ्ग छुट्टाछुट्टै भेटघाट

विविध

काठमाडौँ, १९ वैशाख । नेपालको वर्तमान तरल राजनीति र कोरोना भाइरसबाट उत्पन्न परिस्थितिमा सक्रिय चासो लिँदै आएको चीनका नेपालस्थित राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन्।

शुक्रबार बिहान करिब एक घण्टा भएको भेटघाटको बिस्तृत विवरण प्राप्त नभए पनि नेकपाभित्रको द्वन्द र ओलीको निरन्तरताको सम्भावनाबारे छलफल भएको बुझिएको छ। प्रचण्डसँगको भेटलगत्तै उनी वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेकी थिइन् ।

राजदूत याङछीले बिहीबार राति राजनीतिक संकटको भूमरीमा फसेका प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गरेकी थिइन् ।

करिव एकसाता पहिले चिनियाँ राष्ट्रपति सि जिनपिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी ओलीको सुस्वास्थ्य र खुशीका लागि दिएको शुभकामनालाई ओलीपक्षले वर्तमान राजनीतिक संकटमा चीनको ओलीलाई समर्थनका रुपमा प्रस्तुत गर्दै आएको छ ।

राष्ट्रपति सीको भण्डारीसँग फोन वार्तापछि राजदूत याङछीले भण्डारीसँग एक्लै भेट गरेकी थिइन्। जसबारे राष्ट्रपति कार्यालयले कुनै सार्वजनिक जानकारी दिएको छैन।