काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।
ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीको लापारबाहिले गर्दा कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको ठोकुवा गरेका हुन् ।
बिहीवार आयोजीत पत्रकार सम्मेलनमा एक पत्रकारले उनले किन यति विश्वासका साथ चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ भनी गरेको प्रश्नको उतरमा ट्रम्पले आफूसँग चिनियाँ ल्याबबाटै कोरोना भाइरसको महामारी फैलिएको प्रमाण भएको दाबी गरेका हुन् । पत्रकारले प्रमाण माग्दा भने उनले दिन नमिल्ने बताएका थिए ।

यद्यपी चीनले कोरोना भाइरस फैलाउने कार्य जानीजानी गरेको हो कि गल्तीले भयो भन्ने बारे अझै स्पष्ट नभएको उनले बताए । यसमा थप छानबिन भईरहेको पनि उनले बताए ।
विहीवार ह्वाईट हाउसका भएको पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चीनको साथ दिएको पनि आरोप लगाएका छन् ।
सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । अहिले यस संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।
एजेन्सीको सहयोगमा
