काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सार्वजनिक गरेको वित्तीय विवरणले नेपाली बैंकिङ क्षेत्र क्रमशः सुदृढ दिशातर्फ फर्किँदै गएको संकेत दिएको छ। चुनौतीपूर्ण आर्थिक परिवेशका बीच पनि बैंकले स्थायित्व कायम राख्दै नाफामूलक वृद्धिलाई निरन्तरता दिन सफल भएको देखिएको छ।
चालु आव २०८२/८३ को दोस्रो त्रैमाससम्म नबिल बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।
नाफामा आएको यो उल्लेखनीय वृद्धि बैंकको रणनीतिक व्यवस्थापन, प्रभावकारी जोखिम नियन्त्रण तथा आम्दानी संरचनामा गरिएको सुधारको प्रत्यक्ष परिणामका रूपमा विश्लेषण गरिएको छ।

खुद ब्याज आम्दानी सामान्य रूपमा २.४२ प्रतिशतले बढे पनि इम्पेयरमेन्ट चार्जमा आएको उल्लेखनीय सुधार (रिभर्सल) ले बैंकको नाफा वृद्धिलाई अझ मजबुत बनाएको छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ, जुन अघिल्लो वर्षको ठूलो प्रोभिजनिङबाट स्पष्ट सुधार हो।
यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशतले बढेर १० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढेर ६ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ। यसले बैंकको कोर व्यवसाय र सञ्चालन दक्षता दुवै बलियो बन्दै गएको देखाउँछ।
नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेखनीय रूपमा सुधार भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६ पैसाले बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा पुगेको छ भने मूल्यआम्दानी अनुपात १३.९१ गुणा रहेको छ, जसले बैंकको मूल्याङ्कन अझ आकर्षक बन्दै गएको संकेत गर्दछ।
नाफा, प्रतिशेयर आम्दानी, लाभांश क्षमता, जोखिम व्यवस्थापन र सञ्चालन दक्षतासहित अधिकांश प्रमुख वित्तीय सूचकमा सुधार देखिनुले बैंकिङ उद्योगप्रति बढ्दो विश्वास र स्थायित्वको आधार मजबुत बन्दै गएको देखिन्छ।यसले नेपाली बैंकिङ क्षेत्र दीर्घकालीन रूपमा अझ सबल र लगानीमैत्री बन्दै गएको संकेत गर्दछ।
लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा बैंकको लाभांश क्षमता उल्लेखनीय रूपमा बढेको छ। दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा कायम भएको छ। यो अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता ९.३८ प्रतिशतबाट बढेर २२.५० प्रतिशतमा पुगेको हो।
जोखिम व्यवस्थापनका सूचकहरूमा पनि बैंकले प्रभावशाली सुधार गरेको छ। बैंकको ग्रस एनपीएल ४.९३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ भने नेट एनपीएल १.७० प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ। साथै, कस्ट अफ फण्ड ४.८१ प्रतिशतबाट घटेर ३.६२ प्रतिशतमा झर्नुले बैंकको आम्दानी संरचना थप सबल बनेको देखिन्छ।
५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
