घटनास्थल नजिकै भेटियो अर्को बम

विविध

रोल्पामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको गहुँबारी नजिकै अर्को बम पनि फेला परेको छ । विस्फोटस्थल नजिकै प्रहरीले विस्फोट नभएको एक थान बम फेला पारेको हो ।

यसैबीच नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल जाँदैछ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७* स्थित गैरीगाउँ भन्ने स्थानमा रहेको गहुँबारीमा बिहीबार साँझ बम विस्फोट हुँदा ४ जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो । बम विस्फोटमा परि मृत्यु हुनेमा ५ वर्षिय विजय खत्री, ११ वर्षिय विमला खत्री, १३ वर्षिय गौरब नेपाल र १४ वर्षिय लोकीराम डाँगी रहेका छन् ।

मृतक ४ जना बालबालिका गहुँबारीमा बाख्रा चराउन गोठालो जाँदा उक्त वस्तु फेला परेर खेलाउँदा विष्फोट भएको थियो । प्रहरीले घटनास्थल सिल गरिसकेको छ ।

गाउँको नजिकै गोठाला गएका उनीहरुले युद्धताकाका बम विफोटमा ज्यान गुमाउनु परेको भन्दै आफन्त र परिवारका सदस्य मर्माहत भएका छन् । प्राप्त जानकारी अनुसार युद्धताका रोल्पाको दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो।

बेबारिसे अवस्थामा फेला परेको बम गोठाला गएका बालबालिकाले खेलाउने क्रममा विस्फोट भएको प्रहरीको अनुमान छ । ठूलो आवाजसहित विष्फोट भएको उक्त बम ‘टु ईन्च मोटर’ रहेको प्रहरीको आशंका छ । यतिबेला सिंगो गाउँ शोकमा डुबेको छ भने गाउँले त्रसित भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।