वृत्तचित्र ‘द लस्ट नोमेड्स अफ एभरेस्ट’ युट्युबमा सार्वजनिक

विविध

चौरीपालन पेशामा आधारित वृत्तचित्र ‘द लस्ट नोमेड्स अफ एभरेस्ट’ ‘Last Nomads of Everest’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

शेर्पा जातिको परम्परागत पेशा आधुनिकताका कारण लोप हुन लागेकाले भावी पुस्तालाई जानकारी दिन युट्युबमा सार्वजनिक गरिएको हो ।

सन् २०१७ मा निर्माण गरिएको वृत्तचित्रले शेर्पा जातिको परम्परागत पेशा र हालको अवस्थाको बारेमा जानकारी दिएको छ ।

समुद्री सतहभन्दा ४००० मिटर माथिसम्म गएर छायांकन गरिएको वृत्तचित्रमा सोलुखुम्बु जिल्लाको धर्मडाँडा र घ्याङखर्कको टाकुरामा रहेका केही चौरीगोठका  जीवन्त कथा समेटिएको छ ।

२२ मुलुकमा चलचित्र प्रदर्शन भएको यो वृत्तचित्रको निर्माता हिराज बाबु गोर्खाली र निर्जल पौडेल तथा निर्देशन निश्चल पौडेलले गरेका हुन । शोधकर्ता तथा पटकथाकारका रूपमा सेर्कु शेर्पा छन् ।

चौरीपालन पेशाको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौदर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ ।