काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचान (Corporate Identity) लाई समयसापेक्ष परिमार्जन गर्दै नयाँ लोगो र छाप सार्वजनिक गरेको छ। बैंकले आज माघ १ गते बिहीबारदेखि लागू हुने गरी नयाँ लोगो र छापलाई आधिकारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।
बैंकको दीर्घकालीन रणनीतिक योजना अनुसार गत कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले लोगो र छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही बमोजिम आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी बैंकले नयाँ ब्रान्डिङ सुरु गरेको विज्ञप्ति मार्फत जनाएको छ।
किन फेरियो लोगो ?
बैंकका अनुसार नयाँ लोगोले बैंकको आधुनिकता, सरलता र विश्वसनीय बैंकिङ सेवाप्रतिको अटुट प्रतिबद्धतालाई झल्काउँछ। बदलिँदो बैंकिङ परिवेश र ग्राहकको चाहनालाई ध्यानमा राख्दै बैंकले आफूलाई थप सशक्त रूपमा प्रस्तुत गर्न यो कदम चालेको हो।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “परिवर्तित लोगोले विकास बैंकको आधुनिकता सहितको सरल पहिचान तथा विश्वसनीय बैंकिङ सेवा प्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने विश्वास लिएका छौँ।”
सेवामा गुणस्तर थप्ने प्रतिबद्धता
नयाँ लोगो सार्वजनिक गर्ने अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, आगामी दिनहरूमा अझ प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता समेत बैंकले दोहोर्याएको छ।
हाल गरिमा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका शाखा सञ्जाल मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
