नेतृत्वको अडान Vs परिवर्तनको दबाब: कांग्रेसभित्र वार्ता र निर्वाचनको दोहोरो टकराव

राजनीति

काठमाडौं — नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादले नयाँ मोड लिँदै गर्दा पार्टी नेतृत्व र विशेष महाधिवेशन पक्षबीचको दूरी झनै गहिरिँदै गएको देखिएको छ। एकातिर सभापति शेरबहादुर देउवा नेतृत्व नछोड्ने स्पष्ट सन्देशसहित वार्तामा कठोर अडानमा देखिएका छन् भने अर्कोतर्फ विशेष महाधिवेशनका प्रतिनिधिहरू नयाँ नीति र नेतृत्व चयन नगरी नफर्किने दृढ अडानमा उभिएका छन्।

यही बीच, विशेष महाधिवेशन पक्षले भने नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको निष्कर्ष सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन प्रचार समितिले प्रतिनिधिहरू नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै हलबाट बाहिरिने अडानमा पुगेको जनाएको छ। प्रचार समिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट माग सम्बोधन हुने संकेत नदेखिएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको स्पष्ट पारे।

विवाद समाधानका लागि निर्णायक मानिएको दोस्रो चरणको वार्ता नेतृत्वको विषयमै अड्किँदा केही समयका लागि स्थगित भएको छ। वार्तामा सहभागी संस्थापन पक्षीय नेताहरूका अनुसार संगठनात्मक तथा प्रक्रियागत विषयमा सहमतिको नजिक पुगे पनि देउवाले नेतृत्व हस्तान्तरणको विषयमा कुनै लचकता नदेखाएपछि संवाद अगाडि बढ्न सकेन। देउवा भने महाराजगञ्जस्थित निवासबाटै आफ्ना पक्षधर नेताहरूलाई नेतृत्वसम्बन्धी कुनै सम्झौता नगर्न दबाब दिँदै आएको बताइन्छ।

विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेलले सभापति देउवालाई पनि निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गर्दै विशेष महाधिवेशन कुनै भागबण्डाका लागि नभई “सतप्रतिशत नेतृत्व परिवर्तन” का लागि भएको दाबी गरे। उनले देउवा पक्षबाट फैलाइएको ४० प्रतिशत भाग खोजिएको आरोपलाई अस्वीकार गर्दै वार्ता नेतृत्व परिवर्तनका लागि भएको, भागबण्डाका लागि नभएको स्पष्ट पारे।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसभित्रको यो टकराव केवल व्यक्ति वा पदको विवाद मात्र नभई पार्टीको भावी दिशा, आन्तरिक लोकतन्त्र र निर्णय प्रक्रियासँग गहिरो रूपमा जोडिएको छ। देउवा पक्ष स्थायित्व र निरन्तरताको तर्क अघि सार्दै आएको छ भने विशेष महाधिवेशन पक्षले लामो समयदेखि नेतृत्व परिवर्तनको माग थाँती रहँदा पार्टी कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ।

संवाद जारी रहेको दाबी दुवै पक्षले गरे पनि व्यवहारमा भने निर्वाचन र वार्ताको बाटो फरक–फरक दिशामा अघि बढिरहेको देखिन्छ। यही गतिरोध चाँडै नटुंगिए कांग्रेसको आन्तरिक विवादले संगठनात्मक संकट झनै गहिरो बनाउने जोखिम बढ्दै गएको छ।