वसन्तपुरको सौन्दर्यीकरण कि राष्ट्रिय पहिचानको उपहास?

काठमाडौँ, वसन्तपुर। ऐतिहासिक हनुमानढोका दरबार क्षेत्र, जहाँ हाम्रो गौरवशाली इतिहासका पाइलाहरू भेटिन्छन्। हाल यस क्षेत्रमा ‘बसन्तपुर सौन्दर्यीकरण कार्यक्रम’ चलिरहेको छ। यो कार्यक्रमको बोर्डमा  ठूला नामहरू देखिन्छन्— काठमाडौँ महानगरपालिका (हनुमानढोका दरबार क्षेत्र सम्रक्षण कार्यक्रम) , र श्री शार्दूल जंग गुल्म

सुन्दा लाग्छ, यति शक्तिशाली र जिम्मेवार निकायहरू मिलेर गरेपछि त काम “नमूना” नै होला। तर, एकता दिवसको अवसरमा यी निकायहरूले प्रदर्शन गरेको “देशभक्ति” देख्दा भने जोकोही सच्चा नेपालीको शिर झुक्छ ।

भनिन्छ, नेपालको झण्डा विश्वमै अनुपम छ। तर हनुमानढोका दरबार क्षेत्रका साइनबोर्डहरू हेर्दा लाग्छ—हाम्रो झण्डा अब ‘अपडेट’ भएर चन्द्र-सूर्य र नीलो किनारा बिनाको ‘मिनिमलिस्ट’ अवतारमा आएको हो कि? एकता दिवसमा राखिएका यी अधुरा झण्डाहरूले हाम्रो राष्ट्रियतालाई जोड्दै छन् कि सरकारी लापर्बाहीलाई उदाङ्गो पार्दै छन्?”

राष्ट्रिय झण्डा कि दुइ राता त्रिकोण?

भ्रमणका क्रममा त्यहाँ राखिएका साइनबोर्डहरूमा नेपालको राष्ट्रिय झण्डा अंकित गरिएको छ। तर अचम्म! ती झण्डाहरूमा न त शान्तिको प्रतीक नीलो किनारा छ, न त हाम्रो अस्तित्व झल्काउने चन्द्र र सूर्य नै। विश्वकै अद्वितीय झण्डालाई यी तीन निकायले मिलेर दुईवटा साधारण राता त्रिकोणमा खुम्चाइदिएका छन्।

जिम्मेवारीको ‘त्रिकोणात्मक’ लापर्बाही:

१. हनुमानढोका दरबार हेरचाह अड्डा: पुरातात्विक सम्पदा र संस्कृतिको संरक्षण गर्ने मुख्य जिम्मा पाएको अड्डाले आफ्नै परिसरमा राष्ट्रिय झण्डाको हुर्मत लिइँदा मौन बस्नु कतिसम्म जायज हो? के अड्डाको ‘हेरचाह’ केवल भवनका ईट्टाहरूमा मात्र सिमित छ, राष्ट्रिय मर्यादामा छैन?

२. श्री शार्दूल जंग गुल्म: सेनाको काम राष्ट्रको झण्डा र सिमानाको रक्षा गर्नु हो। सैनिक अनुशासन र राष्ट्रिय प्रतीकको कदर गर्ने गुल्मकै नाम मुनि राखिएको बोर्डमा झण्डा ‘अपूर्ण’ हुनुले कस्तो सन्देश दिन्छ? के गुल्मका अधिकारीहरूले आफ्नै नाम लेखिएको बोर्डमा झण्डाको स्वरूप बिग्रिएको देखेनन्?

३. काठमाडौँ महानगरपालिका: ‘हनुमानढोका दरबार क्षेत्र कार्यक्रम’ मार्फत करोडौँको बजेट खर्च गर्ने महानगरले साइनबोर्डमा झण्डाको सही चित्र कोर्न एउटा दक्ष कलाकार वा गुणस्तर जाँच गर्ने कर्मचारी समेत पाएन?

संविधानको मर्ममा प्रहार

नेपालको संविधानको अनुसूची १ ले झण्डाको गणितीय शुद्धता र अवयवहरूको बारेमा स्पष्ट निर्देशन दिएको छ।

चन्द्र-सूर्य बिनाको झण्डा नेपालको झण्डा होइन। एकता दिवसका दिन राखिएका यी बोर्डहरूले नेपालीलाई जोड्नुको सट्टा हाम्रो राष्ट्रिय प्रतीकको अपव्याख्या गरिरहेका छन्। एकता दिवस मनाएर दुइ दिन बितिसक्दा पनि ती गल्तीहरू नसच्चिनुले यो स्पष्ट पार्छ कि यहाँ कामको नाममा केवल ‘देखावटी’ र ‘झारा टार्ने’ प्रवृत्ति हाबी छ।

नेपालको राष्ट्रिय झण्डाको अद्वितीय महिमा

विश्वमा नेपालको राष्ट्रिय झण्डा मात्र यस्तो छ, जुन चतुर्भुजाकार छैन। यसको विशिष्ट आकार र प्रतीकहरूले हाम्रो राष्ट्रको इतिहास, संस्कृति र गौरवलाई झल्काउँछ।

  • आकार: दुई त्रिकोण (माथिल्लो र तल्लो) को संयोजन, जसले हिमालय पर्वतमाला र नेपालका दुई प्रमुख धर्म (हिन्दू र बौद्ध) लाई प्रतिनिधित्व गर्दछ।

  • रङ:

    • सिम्रिक रातो: यसले नेपाली जनताको वीरता र साहसलाई दर्शाउँछ। यो हाम्रो राष्ट्रिय रङ पनि हो।

    • नीलो किनारा: यसले शान्ति र सद्भावको प्रतीक गर्दछ, जुन नेपालको विश्वसामुको परिचय हो।

  • चन्द्र र सूर्य:

    • माथिल्लो भागमा चन्द्रमा: यसले नेपालीको शान्त र स्थिर स्वभावको प्रतिनिधित्व गर्दछ।

    • तल्लो भागमा सूर्य: यसले नेपालीको दृढता र ओजलाई जनाउँछ। यी दुई प्रतीकले नेपाल र नेपालीको अस्तित्व चन्द्र र सूर्य रहुन्जेलसम्म अटल रहनेछ भन्ने कामना गर्दछ।

‘सौन्दर्यीकरण’ को अर्थ रङरोगन मात्र होइन, मर्यादाको पालना पनि हो। हनुमानढोका हेरचाह अड्डा, शार्दूल जंग गुल्म र महानगरपालिका जस्ता निकायहरूले एउटै बोर्डमा आफ्नो नाम राख्न जति तत्परता देखाए, त्यति नै ध्यान राष्ट्रिय झण्डाको शुद्धतामा दिएको भए आज यो अपमान हुने थिएन।

सम्बन्धित निकायको छिटो होस् खुलोस् र ती ‘अपूर्ण ‘ झण्डाहरू कि त सच्याइयोस् , कि त हटाइयोस् । राष्ट्रिय झण्डाको अपमान गरेर नगरको सौन्दर्य बढ्दैन, चेतना भया !